Sajhamanch Archive

चीनले अमेरिकालाई भन्यो : ‘सहयोग गर्न चाहन्छौं, मानवीय नैतिकता देखाऊ’

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । अमेरिकामा कोरोना (कोभिड १९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको छ।

मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट गरिरहेको घृणास्पद लफ्फाजीका कारण द्विपक्षीय सहायतालाई ओझेलमा पारिदिएको चीनको विश्लेषण छ। चीनको उहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना संक्रमण फेला परेपछि अमेरिकाले लगातार चीनविरुद्ध खेदजनक अभिव्यक्ति दिइरहेको छ।

ट्रम्प स्वयम्‌ले कोरोना भाइरसलाई ुचिनियाँ भाइरसु भन्दै आएका छन्‌। अमेरिकामा यतिखेर बुलेट ट्रेनको गतिमा कोरोना संक्रमण फैलिइरहेको छ। विश्व नै कोरोना संक्रमणको चपेटामा लपेटिइरहँदा विश्वका प्रमुख दुई शक्तिशाली मुलुकबीच सहायता सम्झौता हुन सकेको छैन। अवस्था खराब हुँदै गएपछि अहिले अमेरिकामा चीन निर्मित चिकित्सकीय सामग्री, उपकरण र औषधीको ब्यापक माग भैरहेको छ।

चीनले अमेरिकालाई सहायता सामग्री उपलब्ध गराउन चाहेपनि वासिङ्टनका राजनीतिज्ञहरूले यसलाई स्वीकार गरिरहेका छैनन्। यस्तो रवैयाका कारण अमेरिकाले कोरोना संक्रमणबाट थप क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्‌। औषधी तथा उपकरण सहायता प्रदान गर्ने मामिलालाई आफूहरूले कुटनैतिक हतियार नबनाउने तथा मानवीय सिद्धान्तका आधारमा सहायता दिन चाहेको चीनले उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूले तत्काल घृणास्पद अभिव्यक्ति दिन छाडेर कोरोनाविरुद्ध लड्न धेरै भन्दा धेरै सहायता लिन चीनले आग्रह गरेको हो।

चीनबाट चिकित्सकीय सहायता लिन हिच्किचाइरहेको अमेरिकाले अहम्‌ र दम्भका कारण ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावती विज्ञहरूले दिइसकेका छन्‌। यही अवस्थामा पनि भेन्टिलेटर निर्माण गर्ने प्रमुख चिनियाँ कम्पनीहरूलाई अमेरिकाबाट ७ लाख ९० हजार थान भेन्टिलेटर माग भएको छ। केही चिनियाँ संस्था, अस्पताल र व्यक्तिगत तवरबाट पनि अमेरिकाका स्थानीय चिकित्सक र अस्पतालहरूलाई सहायता दिन खोजिएको छ। कोरोनाविरूद्धको लडाईंमा अनुभव हासिल गरेका चिनियाँ चिकित्सकहरूले पनि सहयोग गर्न चाहेको बताइरहेका छन्‌।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले चीनबाट प्राप्त १२५५ उपकरण लस एन्जलस पठाइएको र यसले महामारीविरूद्धको लडाईंमा सहयोग पुग्ने ट्वीटरमा लेखेका छन्‌। ग्लोबल टाइम्सका अनुसार अमेरिकी स्वास्थ्य कार्यकर्ता र विशेषज्ञहरूले उपकरण एवम्‌ औषधि अभाव हटाउन दुई देशबीच राष्ट्रियस्तरमै सहायता सम्झौता हुनुपर्ने तथा उपचारका लागि आवश्यकता परिपूर्ति गर्नतर्फ ध्यान दिन आग्रह गरिरहेका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *