Sajhamanch Archive

कोरोनाको कहरले व्यवसायिक कृषक मार्कामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । तीन वर्ष यता व्यवसायिक कृषि उत्पादनमा उन्नतशील बन्दै गएका भद्रपुर ९ का कोइरी परिवार यस वर्ष भने नराम्ररी नोक्सान व्यहोर्न बाध्य भएका छन् ।

कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्म मार्फत उत्पादित अनारस लगायत तरकारी जन्य उत्पादनले बजारको मुख देख्न नपाएपछि लाखौं रकमको नोक्सानी व्यहोर्न बाध्य भएका हुन् । बारीभरी अनारस लटरम्म पाकेका छन् । यस वर्षको उत्पादन बजारमा पठाएपछि बैंकको १३ लाख ऋण रकमको सावाँ व्याज भुक्तानी गर्ने सपना समेत धमिलिएको छ ।

दर्जन बढी व्यक्तिको रोजगारको केन्द्र रहेको सो फर्ममा आश्रितको गाँस जुटाउनेदेखि बैंकको ब्याज तिर्नेसम्मका भार बहन गर्ने मूल उत्पादन अनारस विग्रने अवस्थाले थप चिन्ता बढेको छ । भद्रपुर ९ डाँगीवारी स्थित भद्रपुर ज्यामिरगडी रोडमा रहेको फर्ममा उत्पादित अनारस पाकिरहेको दृष्य सडकबाटै प्रष्ट देखिने गरेको छ । स्थानीय नागरिक कमै आइ पुग्ने सो फर्मको बजार ३ नम्बर प्रदेशको बनेपा र काठमाण्डौ रहेका छन् । सडक बन्द भएपछि बारीमा पाकिरहेका अनारस र मेवा कुहिने अवस्था सिर्जना भएको दुखेसो सञ्चालकहरूको रहेको छ ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमणको त्रास बढेसंगै सरकारले चैत्र ११ गतेदेखि देशलाई पूर्ण लकडाउ गरिदियो । यस समयमा यस कृषि फर्म मार्फत उत्पादित अनारसले बजारमा पुग्न नपाएपछि बारीमै सडिने अवस्था निर्माण हुँदा सञ्चालक मनोज सिंह कोइरीलाई सहुको ऋणले भतभती पोल्न थालेको छ । परिवारमा चार दाजु भाइ सहित दर्जन बढीको रोजी रोटी समेत गाँसिएको सो फर्ममा ५ बिगाह क्षेत्रफलमा अनारस, ४ विगाह क्षेत्रमा अग्र्यानिक चिया, २ विगाह हाराहारीमा मकै, अलवा कागती, मेवा, बेसार मौसमी तर्कारी लगायत खेती हुँदै आइरहेको छ ।

बाबु बाजेको कृषि पेशालाई व्यवसायिक रूप दिँदै मनोजले आफ्नै पुख्र्यौली जमिन तथा केही जमिन भाडामा लिएर ४ वर्षयता सुरू गरेको कृषि उत्पादनबाट दर्जन बढी परिवारको जीवन गुजारा चलिरहेको छ । बारीमा काम गर्न त लकडाउनले नकारात्मक प्रभाव नपारे पनि उत्पादित फलफुल तथा तरकारी बेच्न नसकेपछि कुहिएर नास हुने अवस्था आएको हो । अनारस र मेवा पाकेर पहेँलपुर भए पनि बजार पढाउन नसकिएपछि समस्या सिर्जना भएको छ ।

कृषक मनोजले आफ्ना उत्पादन काठमाण्डौ र बनेपामा रहेका जुस उत्पादन कम्पनीलाई बेच्दै आएको जानकारी दिए । उनले झापामा फलफुलको रस उत्पादन गर्ने कम्पनी नभएकै कारण ३ नम्बर प्रदेशको औद्योगिक क्षेत्रमा निर्यात गर्नु पर्ने बाध्यता समेत सुनाए । विषादी र रसायनको प्रयोग नगरी उत्पादन गरिरहेको कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्मले राज्यबाट कुनै सहयोग या सहुलियत लिएको छैन । कागजमा कृषि फर्म दर्ता गर्नेहरूले लाखौं अनुदान र सहुलियतमा कृषि औजार पाए पनि आफ्नो फर्म राज्यका कुनै पनि तहका सरकारको नजरमा पर्न नसकेको सञ्चालक सिंहको गुनासो छ । उनको एउटै गुनासो के हो भने राजनीतिक चस्मा खोलेर असली कृषि कर्म गर्नेहरूलाई सरकारले सहयोग र समर्थन गर्नु पर्छ तर, त्यसो नहुँदा साच्चैका कृषक मार्कामा परिरहेको अवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *