शिवसताक्षीमा कोरोना भाइरस प्रकोप रोकथामका लागि सर्वपक्षीय सहमती जुट्यो
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट नगरबासीलाई जोगाउन सर्वपक्षीय सहमति जुटेको छ ।
बुधबार शिवसताक्षी नगरपालिका कार्यालयमा नगर भित्रका सबै राजनीतिक दलको सर्वपक्षिय वैठकबाट नगर र वडा स्तरीय संयन्त्र बनाई अघि बढ्ने निर्णय गरेको हो ।
नगरपालिकाले यस अघि कोरोना भाइरस प्रकोप रोकथाम १० लाखको राहत कोष खडा गरेर सञ्चालनमा ल्याएको थियो । सर्वपक्षीय भेलाले लकडाउनको समयमा विपन्न समुदायको पहिचान र डाटा संकलनको लागि नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माको अध्यक्षतामा सबै दलका अध्यक्ष तथा प्रतिनिधी सदस्य रहने गरी कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समिति र वडाहरुमा वडाध्यक्षको अध्यक्षतामा सर्वपक्षिय समिति गठन गरेको छ ।
समितिले भोलीदेखि नै काम गर्ने नगरपालिकाले जनाएको छ । बैठकमा शिवसताक्षी नगरपालिका भित्र झापाको दक्षिणी क्षेत्रबाट अवैधरुपमा भारतीयहरु प्रवेश गर्ने भएकाले त्यस्ता बाटाहरु बन्द गर्ने, लकडाउनको समयमा कृषकले उत्पादन गरेका तरकारीहरुको उचित व्यवस्थापन गरी गाउँ गाउँमा पुर्याउने समेत निर्णय भएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए । नगरपालिकाले स्थापना गरेको कोराना भाइरस प्रकोप रोकथाम राहत कोषमा, विभिन्न उद्योगी, व्यवसायी, राजनीतिक दल, संघ संस्थाहरुको सहयोग नगद तथा जिन्सी जम्मा गरी एकद्वार प्रणालीबाट विपन्न, असाहयलाई पारदर्शी ढंगले वितरण गर्ने नगरप्रमुख चन्द्रकुमा शेर्माले जानकारी दिए । उनले यो परिस्थिति कति समयसम्म चल्ने थाहा नभएकाल आवश्यक परे अन्य थप रकम कोषमा जम्मा गरी विपन्न परिवारका आधारभुत आवश्यकता पुरा गर्ने बताए ।
वैठकमा शिवसताक्षी नगरपालिकाका दक्षिणी क्षेत्रका तराई बासीहरुमा कोरोना भाइरस सम्वन्धी सचेतना कमी भएको महशुस गरी थप सुचनाका लागि नगर प्रवक्ता नविन इजमको संंयोजकत्वमा कोराना भाइरस रोकथाम प्रचारप्रसार समिति समेत गठन भएको छ । जसको सदस्यहरुमा विनोद सापकोटा, सरोज भट्टराई, गोविन ल्वागुन, जिवनसिं राजवंशी, सेलिङ्ग केसी र छविलाल दवाडी रहेका छन् । समितिले नेपाली भाषा र तराईमुलको मातृ भाषामा कोरोना रोकथाम सम्वन्धी प्रचार प्रसार गर्ने जनाएको छ । समितिले कोरोना भाइरस रोकथामको सूचना प्रसारणका लागि अनलाइन एप्स पनि निर्माण गरी, विभिन्न अनलाइन र फेसबुकमा सुचना सम्प्रेण गर्ने समेत जनाएको छ । वैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, संघीय समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लिम्बुवान मञ्च, जनमुक्ति पार्टीका अध्यक्ष तथा प्रतिनिधीको उपस्थिति रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघ शिवसताक्षी नगरले प्रदान गरेको राहतको चामल ग्रहण गर्दे शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा ।
यसैबीच नेपाल सुनचाँदी व्यवसायी संघ शिवसताक्षीले विपन्न परिवारको लागि कोरोना भाइरस प्रकोप रोकथाम राहत कोषमा ८ सय २५ केजी चामल जम्मा गरेको छ । सुन चाँदी व्यवसायी संघ शिवसताक्षीका संयोजक टेकबहादुर सेन्चुरीले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका छन् । त्यस्तै संघीय लिम्बुवान मञ्चका अध्यक्ष प्रकाश लिम्बुले नगरको कोषमा १ हजार मास्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् । विभिन्न राजनीतिक दलबाट पनि नगद तथा जिन्सी उपलब्ध गराउने बचन दिएको बताइएको छ ।
Comments