जनप्रतिनिधिले विपन्नको घरैमा पुर्याए राहत सामाग्री
Published: (Updated: )
by .शिवसताक्षी । विश्व नै आक्रान्त बनाउँदै गएको कोरोना भाइरसको कारण गरिएको लकडाउनले विपन्न परिवारमा चुलो बल्न छोडेपछि स्थानीयतहले विभिन्न राहतका कार्यक्रम ल्याएको छ ।
शिवसताक्षी नगरपालिकाले कोराना भाइरस प्रकोप रोगथाम कोष स्थापना गरी राहत वितरण गर्न थालिएको जनाएको छ । त्यसै क्रममा शुक्रबार शिवसताक्षी नगरपालिका वडा नं. ११ ले आफ्ना वडाका १७२ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
वडाध्यक्षको नेतृत्वमा वडा कार्यालयको तर्फबाट प्रति परिवारमा २५ केजी चामल, दाल, नुन, तेल गरी आधारभुत आवश्यकीय वस्तुहरुको वितरण गरिएको हो । वडाले गाडीमा खाद्य वस्तु विपन्न परिवारको घर–घरमा पु¥याएको छ । एकै स्थानबाट राहत समाग्री वितरण गर्दा भिडभाड हुने सामाजिक दुरी कायम गर्न गाह्रो भएपछि गाडी राखी विपन्न परिवारको घर –घर मै पुगेर राहत वितरण गरिएको वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै शिवसताक्षीको झिलझिलेमा रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठन आफैले उत्पादन गरेको २ सय थान मास्क वितरण गरेको छ । उक्त संस्थाले शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका नागरिकलाई मास्क वितरण गरेको जनाएको छ ।
यसैबीच शिवसताक्षी नगरभित्रका निर्माण व्यवसायीहरुले १ लाख बराबरको खाद्य सामाग्री शिवसताक्षी नगरपालिकाको कोराना भाइरस प्रकोप रोगथाम कोषमा उपलब्ध गराएका छन् । निर्माण व्यवसायीहरु लोकेन्द्र श्रेष्ठ, घनेन्द्र इजम, सुवास गौतम, देवेन्द्र खरेल, सुरेस इजम, बुद्धिमान लिम्बु, ढाकाप्रसाद अधिकारी, विशाल सेर्मा, मिलन नामहिम, भिम साँवा र सन्तोष थेगिङले संयुक्त रुपमा नगरलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले १४ सय ७६ केजी चामल, ७५ केजी दाल, ३० लिटर तेल, १०० केजी आयो नुन र ७० थान नुहाउने साबुन उपलब्ध गराएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए ।
Comments