कार चढेर काठमाडौँबाट झापाका आएका नक्कली डाक्टर प्रहरी नियन्त्रणमा
Published: (Updated: )
by .भद्रपुर । डाक्टरको नक्कली परिचयपत्र बनाएर कार चढेर काठमाडौँबाट झापा आइपुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई लकडाउन उल्लघंन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको प्रहरी जिल्ला कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा ललितपुर बस्ने ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौँ बस्ने २८ वर्षीय गणेश अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौँबाट धरान हुँदै झापाको काँकडभिट्टा आइतबार बिहान आइपुगेका थिए ।
उनीहरूले स्वास्थ्य शिविर चलाउन आएको बताउँदै डाक्टर लेखिएको नक्कली परिचयपत्र समेत बनाएको फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । लागू औषधको कारोबारी वा प्रयोगकर्ता हुने सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताउँदै उनले भने, ‘यस बारेमा अनुसन्धान भइरहेको छ ।’
धरानमा समेत एक दिन बसेर आएका दुवै जनालाई तत्कालका लागि अस्थायी क्वारेन्टाइनमा पठाइसकेको उनले बताए । अहिलेसम्म इलाका प्रहरी कार्यालय काँकडभिट्टा लकडाउन उल्लघंन गरेको आरोपमा दुई दर्जन मानिस र एक दर्जन सवारीसाधन नियन्त्रणमा लिइसकेको छ ।
Comments