प्रचण्डले सुनाए स्वर्ग नजाने सुँगुरको कथा
Published: (Updated: )
by .काठमाडौ । प्रा डा गोविन्द केसीको अनशन २४ दिनमा चलिरहँदा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई स्वर्ग नजाने सुँगुरसँग तुलना गरेका छन् । सोमबार काठमाडौँमा भएको ४० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले कांग्रेसले गोविन्द केसीको फेरो समातेर अराजकता मच्चाउन खोजेको आरोप लगाएका हुन् ।
प्रत्येक ठुला क्रान्तिपछि पराजित भएको शक्तिले टाउको उठाउन खोज्ने पनि उनले तर्क गरे । ‘प्रत्येक क्रान्तिपछि पराजित भएको शक्तिले प्रतिक्रान्तिका लागि अझै ठुलो पहल गर्छ । सरकार बनाउन फलामको चिउरा जस्तै भएको थियो, संवैधानिक बहानमा रोकियो’, उनले भने, ‘आफूलाई लोकतान्त्रिक भन्नेले रोके, दुई तिहाइको सरकारलााई काम गर्न नदिने बहानामा विभिन्न कू–प्रचार गरिँदैछ । सरकारले काम थाल्न खोज्दा खोज्दै रोक्न खोजिँदैछ ।’
कांग्रेसले केसीको सहरामा अघि बढ्न खोजे पनि आफूहरु १० गुणा शक्तिका साथ आउने पनि उनले बताए । ‘कांग्रेसले ख्याल गरोस हामी पनि अब १० गुणा शक्तिसहित आउँछौँ, हामी जनतामा जाँदैछौँ, त्यसपछि के निस्किन्छ बुझ्नुस ।’
प्रचण्डले सम्बोधनका क्रममा भगवान महादेव र पार्वतीको कथा पनि सुनाए । त्यस क्रममा उनले पृथ्वीमा चरिरहेको सुँगुरको प्रसंग पनि निकाले । ‘एक पटक आकाशमा हिँडिरहेका बेला पार्वती धर्तीमा सुँगुरका बच्चा फोहोरको थुप्रोमा चरिहेको देखिछन्, त्यसपछि उनले महादेवलाई तिनलाई पनि स्वर्गमा लैजान जिद्धी गरिछन्, श्रीमतीले जिद्धी गरेपछि लोग्नेको केही लाग्दैन’, दाहालले कथा सुनाउँदै भने, ‘धर्तीमा झरेर महादेवले सुँगुरहरुलाई स्वर्ग लैजान्छु भनेछन्, त्यसपछि सुँगुरहरुले फोहोरको डंगुर देखाउँदै यस्तै पाइन्छ भने मात्रै जान्छौँ भनेछन्, आज अराजकता फैल्याउनेहरु सुँगुर जस्तै हुन् ।’
दाहालले अहिले प्रतिक्रान्तिले निहुँ खोज्न थालेको बताउँदै अब तागत देखाउने बेला आएको बताए । ‘प्रतिक्रान्तिका लागि उठ्न खोज्नेलाई जनताको तागत देखाउने बेला भएको छ’, दाहालले भने, ‘प्रतिक्रान्तिविरुद्ध एकजुट हुन पनि पार्टी कार्यकर्तालाई अपिल गर्दछु ।’
Comments