लकडाउन, विपन्न वर्ग पहिचान र वितरित राहत
Published: (Updated: )
by .झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ । लकडाउनले घरबाहिर गएर काम गर्न नपाउँदा सबै वर्ग, तह र समुदायका मानिस लगभग बेरोजगार बन्नु परेको यथार्थका अघिल्तिर ‘कस्तो राहत कसलाई’ भन्ने प्रसंग गम्भीर बनेको छ ।
विपन्न भनिएकाहरुलाई राहत दिन बितिसक्यो वा तिनीहरु अझै सक्षम छँदाछँदै हाम्रो स्वभावले हतार गर्दैछौं ? विपन्नको सूचिमा नाम टिपाएर ५ केजी चामल सहयोग लिनेहरुको अनुहार पहिचान गर्दा साह्रै टिठलाग्दो पनि छ । विपन्नको लाइनमा बसेका कतिपय महिलाको घाँटीमा सुनको सिक्री अनि हातका हरेकजसो औंलामा सुनका औंठी ! तीनलाख रुपैयाँभन्दा बढीको मोटरसाइकल चढेर आइफोनमा गफ गर्दै दिनभर सहरका गल्लीमा चुरोट तान्दै बस्ने बेरोजगारहरु (?) पनि राहतको लाइनमा ! के यिनीहरु विपन्न हुन् कि रातदिन नभनी श्रम बेचेर साँझ बिहान छाक टार्ने वर्ग विपन्न हुन् ? आज काम विहीन बनेको त्यो वर्ग र तिनका सन्तानका बारेमा खोजी गरी खाद्यान्न दिनुपर्ने आवश्यकता हो कि ? यसको लेखाजोखा तीनवर्ष बित्नलाग्दा पनि स्थानीय सरकारले किन गर्न सकेनन् ? मलाई लाग्छ, यो सोध्नुपर्ने प्रश्नै होइन । यो त स्थानीय पालिकाका जनप्रतिनिधिले गर्न नचाहेर नगरेको अनिवार्य कामको एउटा महत्वपूर्ण नमूनामात्र हो ।
हामीले सञ्चारमध्यम र सामाजिक सञ्जालहरुमा देखेका छौं, कतिपय मानिसले राहत नपाएको वा पाउँदा पनि थोरै पाएको भनी झगडा र कुटाकुट अनि भागाभागको अवस्था आयो । निर्वाचित भएको तीन वर्षसम्म आफ्नो वडामा कुन परिवारको आर्थिक हैसियत कस्तो छ, तिनीहरु कसरी बाँचिरहेका छन् ? भूमिहीन सुकुम्बासी हुन् कि अन्य भूगोलमा जमिन हुँदाहुँदै यहाँ हुकुम्बासी बन्न आएकाहरु हुन् ? भन्ने विषयमा खोजीनीति नगर्नुले पनि यस्तो समस्या आयो । गरिव, विपन्न, असहाय वा सुकुम्बासी को हो ? यो तीन वर्षको अवधिसम्म सबै पालिकाहरुमा तथ्याङ्क अप टु डेट भइसक्नु पथ्र्यो । त्यसैले यसलाई भनिएको होः जनप्रतिनिधिले गर्न नचाहेर नगरेको अनिवार्य कामको एउटा महत्वपूर्ण नमूना ।
यही अवसरको फाइदा लिँदै कतिपय समाजसेवीहरु (?)ले स्वतःस्फूर्त विपन्नको पहिचान गरी राहत (?) बाँडेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट्याएको देखिन्छ । केही मानिसमा यस्तो समाजसेविता यति छिटो पलाउँछ कि ‘के के जातिको पोको बोकेर’ विपन्न (?) को छाप्रामा उ पहिले पुग्नुपर्छ ।
हामीले भरखरै साझामञ्च डटकममा एउटा समाचार अपलोड गरेका थियौं । राहत बुझेकै दिन घर जल्यो, घरको भग्नावशेषमा २५ लाख फेला पर्यो समाचारमा उल्लेख थियोः झापाको कनकाई नगरपालिका वडा नं. ४ कोटीहोमको सुकुम्बासी टोलमा बसोबास गर्ने ५१ वर्षीय ठाकुरसिंह राइको घर आगलागी हुँदा हजार रुपैयाँ दरका नौ लाख र ५०० दरका नोट ६ लाखजति र अन्य जलेका नोट तर बैंकमा साट्न मिल्ने खालका फेला परेको छ । उनी कनकाई नगरपालिकाबाट विपन्नले पाउने राहत बुझेर घर नपुग्दै आगलागी भएको थियो । राईका अनुसार घरमा २४ लाख ५० हजारभन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।
सुरुङ्गाको कोटीहोमका यी एक विपन्न (?) को घर जल्दा बाकसमा गाडेको २५ लाख हाराहारी रुपैयाँ भेटिएको कुराले कुनै पनि मानिसको श्रम र रोजगारीको प्रकृति हेरेर अनि लवाइखवाइले मात्र गरिबीको मापन गर्नु नहुने रहेछ भन्ने पक्कै पाठ सिकाएको हुनुपर्छ ।
झापामा राहत कोष र विपन्नलाई वितरणको अवस्था
झापाका सबै १५ वटै स्थानीय तह, जिल्ला समन्वय समिति र झापा जिल्ला सहकारी संघले छुट्टाछुट्टै कोष स्थापना गरी स्वतःस्फूर्त बाह्य सहायता जुटाइरहेका छन् । हरेक स्थानीय तहले अलग्गै बैंक खाता सञ्चालन गरेर कोभिड–१९ रोकथाम, नियन्त्रण तथा विपन्न राहत कोषको नाममा संघ–संस्था, ब्यक्ति, व्यवसायिक प्रतिष्ठानसँग नगद तथा जिन्सी सहयोगको अपेक्षा राखेका छन् । तिनमा सहयोग जम्मा हुनेक्रम पनि जारी छ ।
झापाको केन्द्र भागमा रहेको बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट चैत २७ गते साँझसम्म थप ४० लाख ७१ हजार ७४० रुपैयाँ जम्मा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताएका छन् । उक्त कोषमा ६ लाख पाँच हजार रुपैयाँ मूल्यको १५० क्वीन्टल चामल र एक लाख रुपैयाँ बराबरको स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवच (पिपिई)सहितका जिन्सी सामग्री प्राप्त भएको खतिवडाले जानकारी दिएका छन् ।
उक्त कोषबाट बिर्तामोड नगरपालिकाले नगरभित्रका विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने ६ हजार ९६० परिवारका लागि खाद्यान्न वितरण गरेको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताएका छन् । उनका अनुसार ती परिवारमा आश्रित २८ हजार ८५६ जनसंख्याका लागि ६३ लाख ७२ हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको हो । निर्णयानुसार प्रतिव्यक्ति ४ केजी र प्रतिपरिवार अधिकतम ३० केजी चामल तथा दाल र नून अधिकतम् १–१ केजी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
तथ्याङ्कमा राहत विवरणः
राहत पाउने घरधुरी संख्याः | ६,९६० |
चामल | १,१३,७९५ केजी |
दाल | ६,५१८ केजी |
नून | ६,९६० पाकेट |
जिल्लाको तेस्रो पुरानो मेचीनगर नगरपालिकामा २६ हजार १७२ घरधुरीमध्ये १० प्रतिशत विपन्न परिवार र दैनिक रोजगारीमा आश्रित तथा असहाय परिवार गरी ३००० घर परिवार राहतको पर्खाइमा रहेको अनुमान छ । तिनीहरुलाई कार्यालयबाट राहत उपलब्ध गराउने निर्णय भएको कोरोना भाइरस संक्रमण नियन्त्रण विशेष कार्यदलका सचिव, मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती बताउँछन् । उनका अनुसार पहिलो चरणमा ३ हजार १९ परिवारलाई ९९६ रुपैयाँका दरले तय गरिएको राहत प्याकेज बाँडिएको छ ।
राहत प्याकेजमा प्रतिपरिवार चारजना सम्मलाई १० केजी र ५ जनाभन्दा बढीलाई १५ केजी चामल, दाल २ केजी, नून १ केजी, खानेतेल आधा लिटर, आलु ३ केजी तय गरिएको थियो ।
तथ्याङ्कमा राहत विवरणः
राहत पाउने घरधुरी संख्याः | ३,०१९ |
चामल | २,२६,४२५ केजी |
दाल | ४३,१८५ केजी |
नून | १५,०९५ पाकेट |
खानेतेलः | ७,१९७ लिटर ५०० मिलि |
आलुः | ४५,२८५ केजी |
नगरपालिकाले कोषमा ३० लाख रुपैयाँ छुट्याएको थियो भने १५ वटै वडा कार्यालयहरुबाट ३ लाख रुपैयाँको सिलिङमा नबढ्ने गरी राहत कोष बनाउन निर्णय गरिएको वरिष्ठ प्रशासकीय अधिकृत वस्तीको भनाई छ । यो समाचार तयार पार्दासम्म कोषमा विभिन्न ब्यक्ति तथा समुदायबाट रकम सहयोग जुटिरहेको तर अन्य स्थानीय तहमा जस्तो मेचीनगरका जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधाबाट रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय नभएको वस्तीले बताए ।
दमक जिल्लाको दोस्रो पुरानो नगरपालिकाले पनि पहिलो चरणमा २ हजार २४६ परिवारका ८ हजार ९९० जनालाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिएका छन् । सो नगरपालिकामा अन्यतिरको भन्दा राहतमा केही लचकता अपनाएको पाइन्छ ।
दमक नगरपालिकाले १ जनालाई १० केजी, २ जनालाई २० केजी, ४ जना सम्मलाई २५ केजी, ५ जना सम्मलाई ३५ केजी र ७ जनाभन्दा बढीलाई ५० केजी चामल प्रदान गरेको छ । यस्तै २ जना सम्मलाई १ केजी, ४ जना सम्मलाई २ केजी र ५ जनाभन्दा बढीलाई ३ केजी दाल दिइएको छ । १ जनादेखि ४ जना सम्मलाई १ केजी, ५ जनाभन्दा बढीलाई २ केजी नून दिइएको दमकमा १ जनालाई आधा लिटर, ३ जना सम्मलाई १ लिटर, ४ देखि ६ जनालाई २ लिटर, ७ भन्दा बढीलाई ३ लिटर खानेतेल दिइएको छ । यस्तै ४ जनासम्मलाई १ केजी र ४ भन्दा बढीलाई २ केजी चिउरा दिइएको छ भने ४ जनासम्मलाई १ वटा र ४ भन्दा बढीलाई २ वटा साबुन दिइएको छ ।
तथ्याङ्कमा राहत विवरणः
घरधुरी संख्याः | २,२४६ |
चामल | ६२,४६५ केजी |
दाल | ४,८३१ केजी |
नून | २,९६४ पाकेट |
खानेतेलः | ४,०५८ लिटर ५०० मिलि |
साबुनः | ४,११३ वटा |
चिउराः | ३,६१६ केजी |
नगरपालिकाले कोषमा ३० लाख रुपैयाँ छुट्याएको थियो । कर्मचारीको चैत महिनाको १० प्रतिशत तलब र पदाधिकारीहरुको एक महिनाको सुविधा वापत जम्मा ११ लाख रुपैयाँ तथा संघ–संस्थाहरुबाट यो तथ्याङ्क संकलन गर्र्दासम्म २८ लाख नगद सहयोग र चामल लगायत केही जिन्सी सामानहरु प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले बताए । उनका अनुसार राहत र उद्धारमा हालसम्म ४१ लाख रुपैयाँ खचए भएको छ ।
देशकै पुरानो मध्येको एक तथा झापाको जेठो भद्रपुर नगरपालिकाले पहिलो चरणमा ३ हजार ५४४ परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । अन्य स्थानीय तहमा एकद्वार प्रणालीबाट राहत सहयोग भए पनि भद्रपुरमा दाताहरुले आफ्नो इच्छामा विपन्नको पहिचान गरी राहत बाँडेर नगरपालिकालाई तथ्याङ्क उपलब्ध गराएको पाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले उपलब्ध गराएको तथ्याङ्क अनुसार नगरपालिकाको तर्फबाट राहत र उद्धारमा हालसम्म १५ लाख ९७ हजार रुपैयाँ खर्च भएको । प्राप्त तथ्याङ्क अनुसार नगरपालिकाबाट र दाताहरुबाट निम्न परिमाणमा छुट्टाछुट्टै राहत सामग्री वितरण गरिएको छ ।
तथ्याङ्कमा राहत विवरणः
नगरपालिकाबाट वितरण गरिएको तथ्याङ्क | दाताहरुबाट वितरण गरिएको तथ्याङ्क | ||
चामल | २५१११ केजी | चामल | ५२८२ केजी |
दाल | २५९१ केजी | दाल | १०१३ केजी |
नून | २५९१ पाकेट | नून | १०१३ पाकेट |
खानेतेलः | १८८८ लिटर | खानेतेलः | ८४८ लिटर |
साबुनः | २५९१ वटा | साबुनः | ९९४ वटा |
बुद्धशान्ति गाउँपालिकाले अतिविपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरुप २१ लाख ७७ हजार २५२ रुपैयाँको खाद्य सामग्री वितरण गरिएको जनाएको छ । गाउँपालिकाका सबै ७ वटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्न वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका हुन् ।
वडागत तथ्याङ्कको आधारमा गाउँपालिकाका अतिविपन्न एक हजार ७३५ घरधुरीका ६ हजार ७२१ जनालाई १५ दिनसम्म पुग्ने चामल, दाल, तेल, नून तथा हात धुन साबुन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिको समष्टिगत विवरण अनुसारः
अर्जुनधारा नगरपालिकाः | गौरादह नगरपालिका | कनकाई नगरपालिका | |||
घरधुरी संख्याः | २३५३ | घरधुरी संख्याः | ३२०२ लिटर | घरधुरी संख्याः | १८८२ |
चामल | २३५३० केजी | चामल | ३२०२० केजी | चामल | २४,५६० केजी |
दाल | २३५३ केजी | दाल | ३२०२ लिटर | दाल | १,८१४ केजी |
नून | २३५३ केजी | नून | ३२०२ लिटर | नून | १९७० केजी |
खानेतेलः | २३५३ लिटर | खानेतेलः | ३२०२ लिटर | खानेतेलः | ९०० लिटर |
साबुनः | २३५३ वटा | साबुनः | १,४१८ वटा | ||
कुखुराको अण्डा | ६३० वटा |
माथिको तथ्याङ्क केलाउँदा बिर्तामोड नगरपालिकाले हालसम्म धेरै घरधुरी र जनसंख्यालाई खाद्यान्न राहत बाँडेको देखाउँछ । झण्डै ७००० परिवारलाई कम्तीमा १५ दिन पुग्ने चामल प्रदान गर्नुले पनि यसको पुष्टी गर्दछ । यस्तै, भद्रपुरमा चाउचाउ, कनकाईमा अण्डा, दमकमा चिउरा, मेचीनगरमा आलु वितरण गरिएको छ । सो कार्यले दैनिक उपभोग्य बस्तुको सूचिमा दाल चामल नून तेलमात्र पर्दैनन्, कोषले धान्छ भने विविधता दिनु उपयुक्त हुने रहेछ भन्ने सन्देश दिएको छ ।
Comments