Sajhamanch Archive

लकडाउनले झापाका किसानको बारी मै कुहिन थाल्यो तरकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकांश किसान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बन्न बाध्य भएका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र वर्षभरी परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेपछि कृषकहरू निराश भएका हुन् ।

उत्तरी झापाका किशानका बारीमा उत्पादित तरकारी उपभोक्ताका घर घर पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका ट्रक तरकारी भित्रिने गरिरहेको छ । सवारी साधन लिएर खुद्रा व्यापारी उत्तरी झापा पुग्न नसक्ने तर, भारतबाट खाद्यन्न ढुवानी हुने सवारी साधन नेपाल प्रवेश पाउने भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिने अवस्था आएको हो ।

उत्तरी झापाका साविकका वाहुण्डाँगी, शान्तिनगर, बुधवारे, खुदुनावारी लगायत क्षेत्रमा व्यवसायिक रूपमा तरकारी हुने गरेको छ । यस क्षेत्रबाट उत्पादित तरकारी विर्तामोड स्थित कृषि थोक बजारमा लगेर कृषकले बेच्ने गरेका छन् । दुई हप्तायता कृषि थोक बजार बन्द भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिन थालेको छ । विभिन्न सहकारी तथा व्यक्तिगत प्रयासमा गरिएको तरकारी खेतीले झापा लगायत आसपास क्षेत्रका बासिन्दालाई साग सब्जीको माग धानिरहेको छ । तर, मुख्य बजार बन्द भएपछि कृषकका उत्पादन खेत बारीमै सिमित बनेको पीडित कृषकहरू गुनासो सुनाउछन् ।

बुद्धशान्ति ५ शान्तिनगरका कृषक धनबहादुर श्रेष्ठका अनुसार त्यस वडामा मात्र २ सय विगाह बढी क्षेत्रफलमा लगाइएको तरकारी जन्य उत्पादन बजार पठाउन नसक्दा कुहिने अवस्था आइसकेको छ । कृषकहरूले विभिन्न सहकारी तथा व्यक्तिगत लगानीमा गरेको तरकारी खेतीबाट सयौं परिवारले जीवन धानिरहेको बताउँदै श्रेष्ठ भारतीय बजारबाट साग सब्जी नेपाल भित्रिरहेको भए पनि नेपाली साग सब्जीले बिक्री हुने ठाउँ नपाएको कृषक श्रेष्ठ गुनासो गर्छन् । श्रेष्ठका अनुसार स्थानीय सरकारले समेत कृषकको समस्या नसुनिदिँदा बारीमै तरकारी कुहिने अवस्था आएको हो ।

हिउँदे तरकारीको अन्तिम सिजन भएकोले यस बेला टमटर, मटर, बन्दाकोपी, भिण्डी, भाण्टा, सिमी, विभिन्न सागपात, फर्सी, लौका लगायत उत्पादित भइरहेको उत्तरी झापाका सयौं कृषकको पेशा नै संकटमा परेको छ । कृषकहरू स्थानीय उत्पादनलाई बजारीकरण गर्न सरकारले ध्यान नदिएको समेत गुनासो पोख्छन् । उनीहरू भारतीय उत्पादनले जस्तै निर्वाध नेपाली साग सब्जीले बजार पाउने वातावरण बन्नु पर्ने बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *