Sajhamanch Archive

सिरियामा भिषण ट्रक बम आक्रमण, कम्तीमा ४६ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिष्फोटक पदार्थ राखेर बिष्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

विश्व कोरोना भाइरसविरुद्ध लडिरहेका बेला सिरियामा यस्तो भिषण आक्रमण भएको हो । संयुक्त राष्ट्र संघले कोरोना महामारीको अवस्थामा सबैलाई युद्ध स्थगित गर्न आग्रह गर्दै आएको थियो ।

टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिष्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको अवस्थामा बिष्फोट गराइएको जनाएको छ ।

सिरियाली नागरिक प्रतिरक्षा समूहका उद्धारकर्मीहरुले जारी गरेका तस्वीरमा उद्धारकर्मीहरु आगोका ज्वाला निभाउन तथा ध्वस्त भएका भवनहरुबाट विभत्स शवहरु निकाल्न सक्रिय रहेको देखिएको छ ।

बेलायतमा मुख्यालय रहेको अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले उक्त आक्रमणबाट कम्तीमा ४६ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताए । उनले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए ।

उनले आक्रमणबाट कम्तीमा छ जना टर्की समर्थित सिरियाली लडाकाको पनि मृत्यु भएको बताए । अब्जरभेटरीले आक्रमणबाट ११ जना बालबालिकाको मृत्यु भएको जनाएको छ ।
विष्फोट कसले गराएको हो भन्ने स्पष्ट भइसकेको छैन । मार्च २०१८ मा कुर्द फौजबाट उक्त क्षेत्रलाई टर्कीका सैनिक र उनीहरुका समर्थक लडाकूले मुक्त गरेयता यो सबैभन्दा भिषण हमला हो ।

टर्कीको रक्षा मन्त्रालयले उक्त आक्रमणमा कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) को संलग्नता रहेको दाबी गरेको छ । यो समूह प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टीको समर्थक लडाकू समूह हो ।

सिरियाली द्वन्द्वका कारण सन् २०११ यता तीन लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । द्वन्द्वबाट जोगिन सिरियाका आधाभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् ।

एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *