Sajhamanch Archive

भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । भारतमा बुधबार कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन संक्रमण बढ्ने रफ्तार सबैभन्दा तीव्र रह्यो । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा यो संख्या ह्वात्तै बढेको हो ।

यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ दिन लागेको थियो । त्यस्तै, कोरोना भित्रिएको सुरुवाती ६२ दिनमा केवल ५० जनाको ज्यान गएको थियो । तर, बुधबार एकै दिन ९२ जनाको मृत्यु भयो । अहिलेसम्म कुल १७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, १५ हजार ३ सय ३१ जना निको भएका छन् ।

यस्तो छ वृद्धिदर

भारतमा ३० जनवरीमा केरलामा पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो । १३ अप्रिल अर्थात् ७५ दिनपछि मात्रै संक्रमितको संख्या १० हजार पुगेको थियो । यसपछिको ८ दिन अर्थात् २१ अप्रिलसम्म थप १० हजार बिरामी बढेर संख्या २० हजारमा पुग्यो ।

अर्को ७ दिन अर्थात् २८ अप्रिलसम्म संक्रमित संख्या ३० हजार नाघ्यो । त्यस्तै, ३० हजारबाट ४० हजारमा पुग्न केवल ५ दिन लागेको थियो । भारत सर्वाधिक धेरै कोरोना संक्रमण महाराष्ट्र राज्यमा फैलिएको छ । यहाँ, १५ हजार ५ सय २५ जनामा संक्रमण भेटिएको छ ।

लकडाउनका बाबजुद ४९ हजारभन्दा बढीमा संक्रमण

भारत सरकारले लकडाउनका कारण संक्रमण फैलने क्रम धेरै हदसम्म रोकिएको दाबी गरेको छ । २४ मार्चसम्म संक्रमितको संख्या ५ सय ७१ थियो । २५ मार्चदेखि भारतमा लकडाउन लागु भयो । यसबीच ४९ हजार ४ सय २३ जनामा कोरोना फैलिएको पुष्टि भयो । विज्ञहरुले समयमै सतर्कताका उपाय अवलम्बन नगरे भारतमा दशौँ लाखमा कोरोना फैलनसक्ने चेतावनी दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *