Sajhamanch Archive

कोभिड १९ ले ल्याएको अवसर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

कमल । लकडाउनका कारण स्थानिय उत्पादनले राम्रो बजार पाएको छ भने लाखौं रुपैया विदेशिनबाट पनि जोगिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) लाई नियन्त्रण र रोकथाम गर्नका लागी मुलुक अहिले लकडाउनमा छ । यस्तो अवस्थामा कृषकले उत्पादन गरेको बेमौसमी तरकारी वालीले राम्रो बजार पाउनुका साथै लाखौ रुपैया विदेश जानबाट पनि रोकिएको छ ।

लकडाउन भन्दा अगाडी दमक नगरपालिकामा छिमेकी मुलुक भारतवाट दैनिक भान्सामा प्रयोग हुने तरकारी ( बोडी, करेला, लौका, घिरौंला, टमाटर, भिन्डि, काक्रा) ५लाख रुपैया भन्दा बढी मुल्यको आउने गरेकोमा अहिले स्थानिय उत्पादनले त्यसको ७५ प्रतिशत धानेको तरकारी तथा फलफुल व्यवसायी संघ दमकका सदस्य रन्जित शाहले बताए ।

उनका अनुसार तरकारीका वाहेक आलु र प्याजमा पनि उस्तै अवस्था रहेको छ । हरेक हप्ता ७५ टन आलु खरिद गर्नका लागी प्रति के.जी.२५ रुपैयाका दरले १८ लाख ७५ हजार रुपैयाको आलु र सोही मुल्यमा ६० टन आलु खरिद गर्न १५ लाख रुपैया गरी जम्मा ३३ लाख रुपैया विदेशिने गरेका थियो । हाल स्थानीय उत्पादन बढेसँगै त्यसको २५ प्रतिशत ८ लाख २५ हजार रुपेया मात्र विदेशिने गरेको शाहले जानकारी दिए ।

आफ्नै ठाउँमा तरकारी उत्पादन गरिने हो भने बाहिरबाट ल्याउन पर्दैन उनले भने स्थानिय उत्पादनलाई बृद्धि गर्न आवश्यक रहेको छ । स्थानिय उत्पादन भएमा उपभोक्तालाई पनि सस्तो पर्ने शाहको भनाई छ ।

दमकका स्थानिय कृषकले लकडाउनलाई अवसरको रुपमा लिने गरेका छन् । लकडाउनले आफुले उत्पादन गरेको काक्रा बजार सम्म पुर्याउन शुरुमा केही व्यवधान आएपनि अहिले सहज भएको छ । आफुले लकडाउनलाई अवसर र प्रेरणाको रुपमा लिएको बताएका छन् । यसले हामीलाई आत्मनिर्भर हुने अवसरपनि दिएको झापाको दमक ३ निवासी नरहरी दाहालले बताए ।

मानिसको जीवनमा आई पर्ने हरेक विपत्तीलाई सामना गर्दै अवसरको रुपमा लिनुपर्नेे कृषक विद्या राई बताउँछन् । आफु आवद्ध नवजागरण कृषक आई.पि.एम. पाठशालाले अहिले वोडी, करेला, लौका, घिरौला फलाएको छ । भारतीय तरकारी नेपालमा भित्रिउनजेल हाम्रोमा कुनै व्यापारी आउदैनथे उनले भने, अहिले हामीले उत्पादन गरेको तरकारीले माग भएअनुसार पुर्याउन सकेको छैनौ । स्थानीय स्तरमै उत्पान गर्न सके बजारको कुनै समस्या हुदैन र दैनिक लाखौ रुपैया विदेश जानबाट पनि रोकिने कृषक राई बताउँछन् ।

कृषकले उत्पादन गरेको तरकारी वाली अहिले स्थानिय बजारमा राम्रो विक्री वितरण भैरहेको छ । तीन क्वीटल काक्रा विक्री गरिसक्यौं अव तरकारी वालीको विक्री सुरु गर्दैछौं । लकडाउनले हामीलाई राम्रो अवसर जुराई दिएको कल्याणकारी कृषि आई. पि.एम. कृषक समुहकी अध्यक्ष गोमादेवी गौतम खनालले बताउँछिन् ।

झापामा कोभिड १९ को पहिलो पोजेटिभ भेटिएकोले दमक वडा नम्वर ३ मा केहि समय सिल गरिएको थियो । जसका कारण सुरुमाकेही समय अवरोध भएपनि अहिले स्थिती सामान्य रहेको जसका कारण व्यापारी आफै कृषकको खेतमै पुगेर तरकारी खरिद गर्ने कृषि प्राविधिक टंक कट्टेलले जानकारी दिए ।

दमक नगरपालिकाले भारतबाट आउने तरकारीमा रोक लगाए पछि स्थानीय उत्पादनले बजार पाएको हो । तरकारी दमकमा मात्र नभएर छिमेकी गाउँपालिका सम्म निर्यात हुन थालेको दमक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नविन बरालले बताए ।

कृषकलाई तरकारी उत्पादनमा उत्साह थप्नेकाम नगरले गरेको छ । नगरपालिकाले वडा नम्वर ३ लाई तरकारी वालीको हब बनाउने निर्णय समेत गरेको वडाध्यक्ष बरालको भनाई छ । बेलामा लकडाउन भयो हिजो तरकारी कहाँ बेच्ने भनेर कृषकमा निराशा थियो भने आज माग पुर्याउन सकेका छैनन् जसका कारण कृषक उत्साहित भएको अवस्था छ , उनले भने ।

हरेक विपत् सँग सँगै केहीन केही गर्ने अवसर पनि हुन्छन् यस पटको कोभिड १९ ले ल्याएको विपत्का कारण दमक वडा नम्वर ३ का कृषकलाई अवसर जुरेको छ । उनिहरुलाई आफुले लगाएको तरकारी वालीको गोडमेल सँगसँगै तयार भएको उत्पादन टिप्ने र बेच्न धमाधम छ । जसले गर्दा उनिहरुलाई त कोभिड १९ ले एउटा उर्जा, जोस जँगर सँगै अवसर समेत जुराई दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *