पाकिस्तान निर्वाचन : इमरान खानको पार्टीले अग्रता लिँदा नवाज शरिफको दलद्वारा परिणाम अश्वीकार
Published:
by .पाकिस्तानमा आम चुनावको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले ढिलाइ गरेको छ। बुधबार साँझ ६ बजे मतदान सकिएको थियो। तत्कालै मतगणना भएको थियो।
सुरुवाती मतपरिणाम र अग्रतामा पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक़-ए-इंसाफ़ पार्टीले अग्रता लिएको छ। त्यसपछि पाकिस्तान मुस्लिम लीग नवाज र विपक्षी पाकिस्तान पिपुल्स पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएका कारण मतपरिणाम सार्वजनिक हुन ढिलाइ भएको हो।
पाकिस्तानको निर्वाचनमा सेनाले हस्तक्षेप गरेको उनीहरूको आरोप छ। यी दुई दलले इमरान खानको पार्टीलाई सहयोग गर्ने भूमिका खेलेको भन्दै सेनाको आलोचना गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ गरेपछि पाकिस्ताभर निर्वाचन आयोगको व्यापक आलोचना भइरहेको छ। आयोगले पछिल्लो समय आधिकारीक परिणाम सार्वजनिक गरिरहेको छैन।
निर्वाचनमा धाँधलीको आरोपकाबीच बिहीबार बिहान साढे ४ बजे एक आधिकारीक नतीजा सार्वजनिक गरिएको थियो। जसमा रावलपिन्डीबाट खानको पार्टीका उम्मेदवार चौधरी मोहम्मद अदनान विजयी भएको घोषणा गरिएको थियो। प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले आयोगमाथी लागेका आलोचनालाई खारेज गरेका छन्। उनले प्राविधिक गडबडी र सुरक्षा एवं मौसमको कारण ढिलाइ भएको बताएका छन्।
उनले बिहीबार दिउँसो परिणाम सार्वजनिक गरिने बताएका छन्। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार इमरान खानको पार्टीले अग्रता लिएको छ भने दोस्रो शरिफको दल र तेस्रो नम्बरमा बिलाबल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी रहेका छन्। दोस्रो नम्बरमा रहेका पार्टीका नेता एवं प्रधानमन्त्रीका उम्मेदवार शहबाज शरीफले मतपरिणामलाई अश्वीकार गरेका छन्।
उनले पत्रकार सम्मेलन गरेर मतपरिणाम स्वीकार नगर्ने र राजनीतिक तथा कानुनी रुपमा त्यसलाई चुनौती दिने घोषणा गरेका छन्। यता खानका पार्टीको अग्रता आएसँगै उनका समर्थकले खुसीयाली मनाउँन थालेका छन्। उनीहरूले एक आपसमा खुसीयाली मनाइरहेका छन्। पाकिस्तानमा बुधबार संसदका २७२ सिटका लागि निर्वाचन भएको हो। जसमा ७० सिट महिला एंव अल्पसंख्यकका लागि आरक्षित गरिएका छन्। जसलाई पाँच प्रतिशत भन्दा बढी भोट पाउने पार्टीबीच बाँड्ने व्यवस्था छ।
Comments