Sajhamanch Archive

मदन-आश्रितबारे पार्टीले सत्यतथ्य बाहिर ल्याउँछ : ओली-प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरू मदन भण्डारी र जीवराज आश्रितबारे पार्टीले सत्यतथ्य बाहिर ल्याउने बताएका छन्।

चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो। मदन-आश्रितको दुर्घटना हो कि हत्या भन्ने अहिलेसम्म खुलेको छैन। घटना भएको २७ वर्ष पुगेको छ।

आज अध्यक्षद्वय ओली-प्रचण्डले विज्ञप्ति निकालेर मदन-आश्रितको दुर्घटनामा मृत्यु भएको भन्ने मान्न जनता तयार नरहेको उल्लेख गरेका छन्।

‘यी दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुस्खद निधन भएको आज २७ वर्ष वितेको छ। उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन। तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्,’ ओली-प्रचण्डले शनिबार निकालको विज्ञप्तिमा भनिएको छ।

नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्ध षड्यन्त्रपूर्ण हत्याका रूपमा जनताले लिने गरेको उनीहरूको भनाइ छ। ‘२७ औं मदन-आश्रित दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनस् व्यक्त गर्दछ।’

मदन-आश्रितका विचार र आदर्शलाई अनवरत अबलम्वन गरिरहने दृढ संकल्पसमेत अध्यक्षद्वय ओली-प्रचण्डको छ। उनीहरूले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको पनि उल्लेख गरेका छन्।

२७औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा शनिबार उनीहरूले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयास गरेको विज्ञप्तिमा जनाएका छन्।

‘थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन्। प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको छ’ अध्यक्षद्वयको भनाइ छ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *