Sajhamanch Archive

सहायक रथी र महासेनानी सैनिक हिरासतमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो ।

जंगी अड्डाले भ्रष्टाचारका मुद्दाहरूलाई अघि बढाएर भ्रष्ट सैनिकहरूविरुद्ध जंगी अड्डा कडा रूपमा उत्रिएको हो । जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

सहायक रथी राणा निरीक्षणाधिकृत महानिर्देशनालयमा कार्यरत छन् । महासेनानी सिलवाल हाल १४ नम्बर बाहिनीका सहायक बाहिनीपति हुन् । सैनिक प्रहरीले राणा र सिलवाल दुवैलाई गत साता पक्राउ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । उनीहरू सैनिक प्रहरी हिरासतमा छन् । कुन शीर्षकका कति अनियमितता गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । आर्थिक अनियमितताको प्रमाणका आधारमा पक्राउ गरिएको सेनाले जनाएको छ ।

सहायक रथी राणा पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा सैनिक अनुशासन उल्लंघन गरी आर्थिक अनियमिततामा संलग्न भएको स्रोतले जनाएको छ । महासेनानी सिलवालसमेत सोही प्रकरणमा आर्थिक अनियमिततामा मुछिएका हुन् । ‘अनियमिततामा संलग्न भएको आशंकामा ठूलो संख्यामा सैनिक अधिकारीहरूमाथि छानबिन भइरहेको छ,’ जंगी अड्डाका एक सैनिक उच्चअधिकारीले भने, ‘भ्रष्ट सैनिकलाई कारबाहीमात्र होइन, उनीहरूले भ्रष्टाचार गरेर कमाएको रकमसमेत फिर्ता गराउँछौं ।’

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा गत कात्तिकमा विभिन्न सैनिक अड्डाभित्र भएका भ्रष्टाचार छानबिन गर्न निगरानी संयन्त्र गठन भएको थियो । उपरथीको नेतृत्वमा गठन भएको उक्त संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापति थापालाई दिएको थियो । संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डामाथि छानबिन गरेको थियो ।

ओभरसाइट सेलले ती निकायहरूमा आकस्मिक भ्रमण गरी विनियोजित रकम के कसरी खर्च भइरहेको छ भन्नेबारे अध्ययन र छानबिन गरेको थियो । ओभरसाइट सेलले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै प्रधानसेनापति थापाले अनियमिततामा संलग्न सैनिक अधिकारीहरूलाई कारबाही थालेका हुन् । गोप्य भनिएको उक्त प्रतिवेदनले औंल्याएका सैनिक अड्डा र उच्च सैनिक अधिकारीमाथि थप छानबिन हुनेछ ।

प्रधानसेनापति कमान्ड मार्ग निर्देशन–२०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न ओभरसाइट सेल गठन भएको थियो । समरी जनरल सैनिक अदालतले महासेनानी भुपालमान अधिकारीलाई भ्रष्टाचारमा संलग्न भएको पुष्टि भएपछि दुई महिना कैद सजाय सुनाएको थियो । जंगी अड्डाले सैनिक अदालतको फैसला शुक्रबार सार्वजनिक गरेको थियो । महासेनानी अधिकारीले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत रहँदा चरम आर्थिक अनियमितता गरेको पुष्टि भएको छ ।

महासेनानी अधिकारीले गैरकानुनी रूपमा आर्जन गरेको १ करोड ८५ लाख ४० हजार एक सय आठ रुपयाँ ११ पैसा रकम असुलउपर गर्न भनेको छ । जंगी अड्डाले कोर्ट अफ इनक्वाइरी गठन गरी सहायक रथी राणा र महासेनानी सिलवालको बयान लिइरहेको छ । राणासँगै आर्थिक अनियमिततामा संलग्न अन्य सैनिक अधिकारीहरूसँग सोधपुछ गरेको छ । प्रमुख सेनानी देवबहादुर क्षेत्रीसमेत आर्थिक अनियमिततामा संलग्न भएपछि सैनिक अदालतले शुक्रबार उनको दुई वर्ष बढुवा रोेक्न र ४ लाख ४० हजार असुलउपर गर्न भनेको छ ।

अन्नपूर्ण पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *