Sajhamanch Archive

कुटपिटपछि युवाको हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नंं.८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता तीन युवाको शव फेला परेको छ । बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ ।

प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका वडा नंं.४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका वडा नंं.४ का नवराज विक, भेरी नगरपालिका वडा नं.४ कै गणेश बुढा र चौरजहारी नगरपालिका वडा नं.१ टीकाराम सुनारको शव फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नं.८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *