Sajhamanch Archive

डा. केसीद्वारा दुई दिने सत्याग्रहको घोषणा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

डा. गोविन्द केसीले सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन्।

दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

दार्चुला सदरमुुकामबाट आइतबार बिहानै उनी व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा गएका छन्। एक हप्ताभन्दा बढी जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य सेवा दिएका डा. केसी दार्चुलामा रहेर जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारेमा उनले जानकारी लिएको अस्पतालका प्रमुख डा.गजेन्द्र दुवालले बताए।

उनले विगतका अनशनमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि केसीले माग गरेका छन्। गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न पनि उनले माग गरेका छन्।

‘सर्वसाधारणको जीविका सहज बनाउन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ उनले विज्ञप्तीमा भनेका छन्।

सुदूरपश्चिमको डडेल्धुरामा सबै विषयका विशेषज्ञसहितको सरकारी मेडिकल कलेज भए दार्चुलालगायत बझाङ, बाजुरा, बैतडी, अछाम, डोटीलगायतका जिल्लाका स्थानीयलाइ फाइदा पुग्ने विज्ञप्तिमा भनिएको छ।

ब्याँस गाउँपालिकामा डा. केसीले एक हप्ता स्वास्थ्य सेवा दिने जनाइएको छ। भारतले अतिक्रमण गरेको क्षेत्र ब्याँस गाउँपालिकामै पर्छ। यस अघि डा. केसी वैशाख २५ गतेदेखि बझाङ जिल्ला अस्पताल र वैशाख २९ गतेदेखि ३१ गते जिल्ला अस्पताल बैतडीमा रहेका थिए। त्यसअघि डडेल्धुरामा अनसन बस्नुका साथै फागुन २० देखि वैशाख २५ गतेसम्म डडेल्धुरा अस्पतालमा स्वास्थ्य सेवा दिएका थिए ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *