Sajhamanch Archive

प्रदेशसभाका सांसद भन्छन्- कोरोनाले होइन फौजी कीराले थला पार्ने भो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । प्रदेश १ का सांसदले कोरोनाले मात्र नभएर फौजी किराले थला पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद् बैठकको शून्य समयमा आज बोल्ने सांसदहरुले कोरोनाले मात्र नभएर फौजी कीराले किसानलाई थला पार्न लागेको बताए । उनीहरूले किराले बाली नष्ट गरेर सखाप पारेकाले नियन्त्रणमा सरकारले काम गर्नुपर्ने माग‌ गरे ।

नेकपाका सांसद रामकुमार राईले कोरोनाले मात्र होइन फौजी किराले पनि दुस्ख दिएको बताए । भने, ‘‘कोरोनालेमात्र होइन किसान फौजी किराको प्रकोपले थला पर्ने भए ।’’ उनले खोटाङमा लोडसेडिङको समस्या भएको र उदयपुरको जंगलबाट लगेको प्रशारण लाइनले दु:ख दिएको सुनाए ।

नेकपाका सासंद मोहन खड्काले स्वास्थ्य परीक्षण नगरेका मानिस ओखलढुंगा पुगेर मकै रोप्दै गर्दा कोरोना संक्रमण भएको फेला परेको बताए । एक प्रदेशबाट अर्कोमा जाँदा परीक्षण अनिवार्य गर्नुपर्ने भन्दै उनले गाउँमा संक्रमणको जोखिम बढेको बताए ।

नेकपाका सासंद श्रीप्रसाद मैनालीले झापा कोरोना संक्रमितका कारण रेडजोन परेको भन्दै मेची अस्पतालमा पीसीआर मेसिनसहितको ल्याब स्थापना गर्न सरकारको ध्यानाकर्षण गरे । भने, ‘‘आइसोलेसनको व्यवस्था गर्नुपर्छ ।’’ उनले लकडाउन खुकुलो गर्नपर्ने सुझाव पनि दिए ।

सरकारी कोटामा पढेका चिकित्सकलाई दूर्गममा परिचालन गर्न माग

नेकपाका सासंद सरिता थापाले सरकारी छात्रवृत्तिमा पढ्ने डाक्टरलाई गाउँमा खटाउन पर्ने माग गरिन् । भनिन्, ‘‘संखुवासभामा अस्पतालमा डाक्टर दरबन्दी छ तर जाँदैनन् । सरकारको सुविधा लिएर पढेकालाई परिचालन गर्नुपर्छ ।’’ सांसद‌ लोकप्रसाद साम्बाले पीसीआर परीक्षणको दायरा बढाउन माग गरे ।

कांग्रेसका सांसद ताहिर मियाँले उपचार भई ठीक भएका भारतीय नागरिक सीमा छेउमै बस्दै आएकाले उनीहरू नेपाल नछिरुन भनेर निगरानी गर्नुपर्ने बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *