Sajhamanch Archive

नक्कल गर्नु मान्छेको मूल स्वभाव हो, तर..

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

‘नक्कल’ शब्दले आफैभित्र नकारात्मकता समाहित गरेको हुन्छ । नक्कल शब्द सुन्नसाथ मान्छेहरु नाक खुम्च्याउन थाल्छन् । जबकी मान्छेले जीवनमा जे–जति कुरा सिक्छन्, त्यो नक्कल गरेरै सिक्ने हो । जन्मबाटै मान्छेले नक्कल गर्न सुरु गर्छन् । खानु पिउनु, बोल्नु, चल्नु, हिँड्नु लगभग सबै काम उसले नक्कल गरेरै सिक्छ ।

आमाबुवाको नक्कल गर्दागर्दै बालबच्चाले व्यवहारिक जीवनका कुराहरु सिक्छन् । अरुको देखेर, सुनेर नै बच्चाले नक्कल गर्न थाल्छन् । यही क्रममा उनले जीवनोपयोगी कुराहरु आर्जन गर्छन् । नयाँ अनुभव संगाल्छन् । नक्कल नगरी कुनैपनि कुरा सिक्न संभव होला ?

नवजात शिशुको अघिल्तिर तपाईंले ज्ञानका ठेली राखिदिनुहोस् । वा भव्य पुस्तकालयभित्र उनलाई राखिदिनुहोस् । र, बाँकी मान्छेको सम्पर्कबाट विच्छेद गरिदिनुहोस् । अब उनले केही कुरा सिक्छन् ?

त्यही शिशुलाई एउटा बाख्रासँग हुर्कन दिएमा उनले बाख्राको जस्तै आवाज निकाल्न थाल्छन् । के त्यस्तै आवाज निकाल्नका लागि उनलाई बाख्राले सिकाएको हो ? होइन, उनले बाख्राको नक्कल गरेर आफैले सिकेका हुन् ।

हामी किन नक्कल गर्छौं ?

हामीले एकअर्कालाई हेरेर नै धेरै कुरा सिक्छौं । अरुले लगाएको, अरुले खाएको, अरुले बोलेको आदि कुरा हेरेर त्यसैको नक्कल गर्छौं । आखिर किन हामी नक्कल गर्छौं ?

किनभने हाम्रो मस्तिष्कले सधै सुरक्षित बाटोको खोजी गरिरहेको हुन्छ ।

जुन बाटो सुरक्षित लाग्छ, त्यसैतर्फ हाम्रो झुकाव रहन्छ । जुन काम धेरै मान्छेले गरिरहेको देखिन्छ, त्यही काम मस्तिष्कले सुरक्षित ठान्छ । र, त्यही काम गर्नका लागि प्रेरित गर्छ । मानौं, एउटा ठूलो भवनभित्र प्रवेश गर्ने दुईवटा ढोका छन् । एउटा ढोकाबाट धेरै मान्छे प्रवेश गरिरहेका छन् । अर्कोबाट एकाध मात्र प्रवेश गरिरहेका छन् । अब तपाईं धेरै मान्छेको पंक्तिमा उभिनुहुन्छ । किनभने तपाईंको मस्तिष्कले के ठान्छ भने जहाँ धेरै मान्छे प्रवेश गर्छन्, त्यहाँ पक्कै सुरक्षित एवं सजिलो छ ।

के हामी कोरोना नियन्त्रणका लागि पनि नक्कल गरिरहेका छौं ?

जसै विश्वभर कोरोनाको सन्त्रास फैलदै गयो, असुरक्षित मुलुकहरुले लकडाउन ग¥यो । भिडभाड, आउजाउ, यातायात नियन्त्रण गर्न सबैलाई घरभित्रै बस्न आह्वान गरे । कोरोना भाइरसको संक्रमण जसरी एकपछि अर्को देशमा फैलदै गयो, उसैगरी लकडाउने गर्ने ट्रेन्ड पनि बढ्यो ।

आफ्नो कामधन्दा ठप्प पारेर मान्छेहरु घरभित्रै बसे । कसैले बिरोध गरेनन् । कसैले लकडाउनको उल्लंघन गरेनन् । किन ?

किनभने मान्छेलाई के लाग्यो भने, यो नै सुरक्षित उपाय हो जो अरुले अपनाइरहेका छन् । स्वीडेनले जस्तो हार्ड इम्युनिटी अपनाएर दैनिक जनजीवन सहज बनाउने विधीलाई अरुले पच्छ्याएनन् । किनभने सबैलाई लाग्यो, अरुले यस्तो विधी अपनाएका छैनन् । त्यसैले यो सुरक्षित छैन ।

तर, लकडाउनको कारण आर्थिक स्थिति र सामाजिक जीवन नराम्ररी प्रभावित भयो । यही कारण कोरोना भाइरसको संक्रमण कायम रहेपनि कतिपय मुलुकले लकडाउन खुकुलो बनायो । एकपछि अर्को मुलुकले कोरोनाको सन्त्रासबीच लकडाउन खुकुलो बनाउँदै लग्यो । अतः लकडाउन गर्ने ट्रेन्डलाई जसरी अर्को मुलुकले पच्छ्याउँदै गयो, उसैगरी लकडाउन खुकुलो गर्ने तरिकालाई पनि पच्छ्याउन थाले । यो एक हिसाबले नक्कल नै थियो । मान्छेले सुरक्षाको खोजीमा यस्तो नक्कल गरिरहन्छ । तर, नक्कलमा पनि अक्कलको जरुररत हुन्छ ।

भारतिय आयुर्वेदिक चिकित्सक एवं लेखक डा.अबरार मुल्तानीको विचारको सम्पादित अंश

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *