Sajhamanch Archive

कोरोना नियन्त्रणमा भ्रष्टाचार,छानविनको माग

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by .

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गरेको छ ।

आइतबारको संसद् बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

कार्कीले प्रदेश सरकारले राहतका लागि गठन गरेको जनसुरक्षा कोषको रकममा ब्रह्मलुट मच्चाएको र कोषलाई प्राप्त भएको जिन्सी सामानसमेत हिनामिना गरेको आरोप लगाएका छन् । ‘कोरोना नियन्त्रणका काममा सरकारले ब्रह्मलुट मच्चाइरहेको छ,’ कार्कीले भने, ‘जनसुरक्षा कोषमा प्राप्त भएको जिन्सी सामान खोइ ?’ कोरोना संक्रमित भएको आशंकामा मानिसहरू राखिने क्वारेन्टिनको व्यवस्थापनमा पनि सरकारले चरम लापरबाही गरिरहेको कार्कीले बताए ।

उनले भने, ‘क्वारेन्टिन नै कोरोना सार्ने यन्त्र बनेकाले जनता क्वारेन्टिनदेखि डराउन थालेका छन् ।’ कार्कीले प्रदेश १ मा कोरोनालाई देखाएर मन्त्री धनी हुने र जनता भोकै मर्ने अवस्था आएको आरोप लगाए । जनसुरक्षा कोषको रकम गरिब जनताको पेट भर्न नभई मिडियाका सञ्चालकलाई वितरण गरिएको उनले बताए । ‘विज्ञापन दिनका लागि वडा, नगर, गाउँपालिका, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय हुदाहुदै जनसुरक्षा कोषको ५० लाख रुपैयाँ किन बाँढ्नुपर्यो ?’ कार्कीले प्रश्न गरे ।

उनले प्रदेश सरकार कोरोना नियन्त्रणमा असफल भइसकेको दाबी गरे । झापाको केचनाकवलको क्वारेन्टिन अव्यवस्थित भएकै कारण एकै पालिकामा १०० जना संक्रमति हुनु, धरानमा संक्रमित भएकी एक महिलालाई नजिकै रहेको बिपी अस्पताल भर्ना गराउन पनि १८ घण्टा लाग्नु र केचनाकवलका संक्रमित रातभरि अस्पतालमा भर्ना नपाएर बिचल्ली हुनुले प्रदेश सरकार कोरोना संक्रमण रोकथाम, व्यवस्थापन र उपचारमा असफल भएको कार्कीले बताए ।

उनले प्रदेश १ का मुख्यमन्त्री आफैंले भ्रष्टाचारको अगुवाइ गरिररहेको दाबी गरे । ‘मुख्यमन्त्रीले बजेट बनाउने बेलामा आर्थिक मामिला मन्त्रालयका सहसचिवलाई सरुवा गरेर जगेडामा राख्नु, भौतिक पूर्वाधार मन्त्रालय मातहतका विभिन्न स्थानका डिभिजन इन्जिनियरलाई विनाकारण सरुवा गर्नुलगायत गतिविधिले मुख्यमन्त्री आफैं भ्रष्टाचारमा लिप्त भएको स्पष्ट हुन्छ,’ कार्कीले भने ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *