Sajhamanch Archive

अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर अमेरिकाको विभिन्न शहरमा विरोध प्रदर्शन भइरहेको छ ।

वाशिङ्गटनमा त प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको बाहिर पनि उपस्थित भएका थिए । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार पनि गरे । लगातार छैटौँ दिन अमेरिकाको कैयौँ शहरमा विरोध प्रदर्शन भइरहँदा कैयौँ ठाउँमा हिंसा पनि भएको छ ।

झण्डै ४० शहरमा कर्फ्यु लगाइएको छ तर मानिसहरुले त्यसको बेवास्ता गर्दै सडकमा उत्रिएको देख्न सकिन्छ । यही कारण तनाव निकै बढेको छ । न्युयोर्क, शिकागो, फिलाडेल्फिया र लस एन्जेलेसमा प्रहरी र प्रदर्शनकारीबीच सङ्घर्ष पनि भएको छ । प्रदर्शनकारीलाई तितरबितर गर्नको लागि प्रहरीले अश्रृग्यास रपेपर बुलेट्सको पनि प्रयोग गरेको थियो ।

कैयौँ शहरमा प्रहरीको गाडीमा आगो लगाइएको छ भने पसलहरुमा तोडफोडका साथै सामानहरु लुटिएको छ ।  अमेरिकामा घरेलु आपतको स्थितिलाई नियन्त्रणमा लिन रिजर्भ मिलिटरी द नेशनल गार्डका अनुसार उसका पाँच हजार जवान वाशिङ्टनसहित १५ राज्यमा परिचालन गरिएको छ ।

आइतबार अमेरिकाको कैयौँ शहरमा प्रदर्शनको क्रममा प्रहरीको गाडीमा आगजनी भएको थियो । प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रृग्यास र फ्ल्याश ग्रेनेडको पनि प्रयोग गरेको थियो । फिलाडेल्फियामा स्थानीय टेलिभिजनले प्रहरीको गाडीमा तोडफोड भइरहेको र एउटा स्टोरमा लुटपाट भइरहेको देखाएको थियो ।

मिनियापोलिसमा एक श्वेत प्रहरी अधिकारीमाथि ४६ वर्षीय जर्ज फ्लोइडको हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ । ४४ वर्षीय प्रहरी अधिकारी डेरेक चौभिनलाई आज अदालतमा उपस्थित गराइने बताइएको छ ।

के थियो घटना ?

एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका एक निहत्था अश्वेत व्यक्तिको गर्धनमा घुँडा टेकेर उसलाई दबाएको भिडियो सार्वजनिक भएपछि मानिसहरु सडकमा उत्रिएका हुन् । त्यसको केही मिनेटमै जर्जको निधन भएको थियो ।

भिडियोमा जर्जको आसपास रहेका व्यक्तिले प्रहरी अधिकारीसँग त्यसो नगर्न अनुरोध गरिरहेको पनि देख्न सकिन्थ्यो ।

प्रहरी अधिकारीको घुँडामुनि दबिएका जर्जले पटक–पटक भनिरहेका थिए, ‘(प्लिज आई कान्ट ब्रिथ) म सास फेर्न सकिरहेको छैन ।’ यही नै उनको अन्तिम शब्द बन्यो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *