Sajhamanch Archive

बिहीबारदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौं । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भोलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् ।

चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले बताइन्  । भारतमा भने चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेको विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।

नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मौसमविद् बासीले मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने पनि बताइन् ।

यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमबिद् बासीले बताइन् । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सफा रहेको उनले जानकारी दिइन् ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *