Sajhamanch Archive

ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरेको आरोप

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुठो द्वन्द्व’ सिर्जना गर्ने बताएका छन् ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नुभएका म्याटिसले भने, ‘मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु र यसबाट मलाई क्रुद्ध बनाएको छ ।’

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन् । तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिएका छन् ।

उनले ‘मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन’ भनेका छन् । म्याटिसले अगाडि भनेका छन्, ‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उहाँ हामीलाई विभाजन गर्न चाहनु हुन्छ । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।’ म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *