Sajhamanch Archive

कोरोनाको कहरः जन्मभूमि स्वर्ग सम्झेर घर फर्कने बाटामै लुटिँदैछन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । कुनै बेला नेपाली भएर जन्मेकोमा आत्माग्लानी गरेर सुख सुविधाको बाहनामा परदेश पस्नेहरू विपतमा मात्र जन्मभूमि स्वर्ग सम्झेर परदेश त्याग्न बाध्य हुनु पर्ने रहेछ । परदेशमा कमाएको पैसाले विपतमा काम नदिने अवस्था आएपछि त्यहाँको सुख सुविधा बेकार अनुभूति भएर जन्मभूमि फर्कन बाध्यता हुने कुरा विदेशबाट नेपाल आएकाहरू बताउन थालेका छन् ।

गोजीमा पैसा भए पनि परदेशमा किनेर खाने खाना समेत नपाएर सयौं किलो मिटर भोकै तिर्खै हिँडेर आफ्नो देशको सिमाना छेऊ आइपुगेका अधिकाम्स त्यहाँ पनि नराम्ररी ठगिएको सुनाउँछन् । नेपाल तथा भारतका ठगहरूले विभिन्न बाहनामा सुरक्षाकर्मीकै अगाडि ठग्ने गरेको दृश्यले उनीहरूको मन नराम्ररी कुँड्याएको छ । कोही खाना ल्याइदिने बाहनामा ठगिरहेका छन् त कोही सिमाना कटाइ दिने कोही होलिङ हाउस वा क्वारेन्टिन पुरयाउने बाहनामा लुट्नसम्म लुटिरहेका छन् ।

भारतको सिलगुरी शहरबाट पानीट्याङ्की नाका हुँदै भद्रपुर १० स्थित कलवलगुरी क्वारेन्टिनमा आइपुगेका रसुवा घर बताउने तिलप्रसाद पौडेल पानीट्याङ्की—काँकरभिट्टा नाकामा नेपाल भारत दुवै देशका ठगहरूको ठूलो गिरोह छ । उनीहरू कोरोना त्रासको विपतबाट बच्न आफ्नो मातृभूमि फर्कने नेपालीहरूलाई बाहना बनाएर दिनदहाडै ठगिरहेका छन् । त्यस्ता ठगहरू बिरूद्ध नेपाल तथा भारतका सुरक्षाकर्मी समेत कडा रूपमा प्रस्तुत हुन नसक्दा मानिस ठगिनेक्रम तीव्र छ ।

पछिल्लो समय होल्डिङ हाउस र क्वारेन्टिनमा आइपुगेकाहरूको पीडा सुन्दै काहाली लाग्दो छ । उनीहरूमध्ये अधिकाम्स भारतीय क्षेत्रका विभिन्न शहरमा रोजीरोटीका लागि पुगेका हुन् । नेपालमा काम गर्दा थोरै आम्दानी हुने भएपछि सुखसुविधा कमजोर भइ संघर्ष ज्यादा गर्नु पर्ने कारण विदेश मोह पलाएको हो । विदेशमा कमाएको पैसा विपत आइलाग्दा कागजको खास्टो भन्दा केही नहुने रहेछ । सुख त एक्लै बाँडन सकिने भए पनि दुःमा आफन्त, साथीभाई र जन्मभूमि चाहिने रहेछ ।

परदेशीहरूलाई लाग्दथ्यो आफू जन्मेको भूमि आफ्ना आवश्यकता पूरा गर्न नसक्ने बेकारको देश हो तर, जब संकटले चारैतिर गाँज्न थाल्यो तब मातृभूमि भनेको स्वर्ग रहेछ । मर्नु परे पनि त्यही भूमिमा पुगेर प्राण छोडौंला भन्ने भावनाले पोल्न थालेपछि झञ्झटको सामना गर्दै नेपाल त आइपुगे तर, घर फर्किन तिर्नुपर्ने गाडीभाडा तिर्न नसकेर होल्डिङ हाउस वा क्वारेन्टिनकै गेट कुर्नु पर्ने अवस्था पनि छ । भाडा तिर्ने सक्नेले पनि ४ गुना महंगो भाडा तिरेर जानु पर्ने बाध्यता छ ।

देशमा तीन तहका सरकार छन् । सवै सरकार आफ्ना नागरिकको सुरक्षाका लागि काम पनि गरिरहेका छन् । यस क्रममा अरबौं रकम खर्च पनि भइ सकेको छ तर पनि परदेशमा अड्कीएर अलपत्र परेका नागरिक हुन् या देश भित्र रहेका अधिकाम्स नागरिकले सरकार नभएको अनुभूति गरिरहेको अवस्था छ । यहाँ प्रहरी, प्रशासनकै अगाडि विभिन्न बाहना बनाएर नागरिक लुट्ने लुटाहाहरू निर्लज्ज हिडिँरहेका छन् तर, सरकारी संयन्त्र नागरिकलाई न्याय दिन सकिरहेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *