Sajhamanch Archive

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by .

कतिपय कुरा यस्ता हुन्छन्, जसमा नितान्त गोपनियता अपनाउनुपर्ने हुन्छ । यदि त्यस्ता कुरा एकअर्कासँग साझेदार गर्दा सम्बन्ध बलियो हुने होइन, बरु अरु खराब हुने भय रहन्छ । के हो त त्यस्ता कुरा, जो दम्पतीले एकअर्कासँग लुकाउनैपर्छ ।

आफ्नै परिवारको नराम्रो कुरा

श्रीमान वा श्रीमतीले आफ्नो परिवारको नकारात्मक कुरा गर्नु उचित हुँदैन । परिवारका सदस्यहरुको गल्ती, कमजोरी औंल्याउने, टिप्पणी गर्ने, परिवारको मान–मर्यादामा आँच आउने कुराहरु गर्ने बानी राम्रो होइन । परिवारभित्रका कुराहरु सकेसम्म गोप्य राख्नुपर्छ । परिवारका सदस्यहरुको गल्ती कमजोरी औंल्याउने र त्यसमाथि नकारात्मक टिप्पणी गर्ने बानीले दाम्पत्य सम्बन्धलाई धरापमा पार्न सक्छ ।

अरुको चरित्र हत्या हुने कुरा

श्रीमान वा श्रीमतीले अर्काको चरित्रलाई लिएर पनि नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । चाहे घरका सदस्य होस् वा छिमेकी, साथीभाई होस् वा कार्यलयका सहकर्मी । उनीहरुको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु आफैमा खराब प्रवृत्ति हो । त्यसैले आफुले अर्काको चरित्रमाथि औंला उठाइरहँदा पार्टनरमा आफुलाई हेर्ने दृष्टिकोण नै खराब बन्न सक्छ ।

त्यसैले अर्काको चरित्र हत्या हुने किसिमको टिकाटिप्पणी गर्नु उचित हुँदैन । परिवारका सदस्य, छिमेकी, साथीभाईको व्यक्तिगत चरित्र कस्तो छ भन्ने कुरा दम्पतीबीच साझेदार गर्नु जरुरी पनि छैन । बरु अरुको चरित्रबारे चर्चा गरेर समय खर्च गर्नुभन्दा आफ्नै घर व्यवहारको कुरा गर्नु उचित हुन्छ ।

अर्कासँग तुलना नगर्ने

श्रीमान वा श्रीमतीमा एकअर्काप्रति केही अपेक्षा हुन्छन नै । यद्यपि ‘फलानोले जस्तो’ भनेर आफ्ना पार्टनरलाई अरुसँग तुलना गर्नु उचित हुँदैन । मानौं तपाईंले आफ्ना पार्टनरमा कतिपय कमी, कमजोरी औंल्याउनुभएको छ । अरु व्यक्तिसँग तुलना गर्दै उक्त कमी कमजोरीमाथि टिप्पणी गर्दा त्यसले तपाईंहरुमा एकअर्काप्रतिको आशा र भरोसा टुट्न सक्छ ।

सबै मान्छे आफैमा पूर्ण हुँदैनन् । सबैको केही सवल पक्ष हुन्छन्, कमजोरी पनि । आफ्नो पार्टनरमाथि खोट देखाउने कुरा पनि त्यती उचित हुँदैन । यस्ता कुरामा मौन बसेकै राम्रो हो ।

अपमानको कुरा

आफुमाथि अपमान भएको कुरा पनि दम्पतीले एकअर्कामा साझेदार गर्न आवश्यक छैन । यस्ता कुराले आफ्ना पार्टनरलाई अरु बढी दुःखी बनाउन सक्छ । हीनताबोध पैदा गर्न सक्छ । त्यसैले आफुमाथि कुनै अपमान भएमा त्यसलाई साझेदार गरिरहनु उचित हुँदैन ।

सहयोग गरेको कुरा

मानौं आफन्त, छिमेकी, साथीभाईलाई तपाईंले केही सहयोग गर्नुभयो । आर्थिक सहयोग हुनसक्छ, भौतिक सहयोग हुनसक्छ । यस्ता कुरा पनि पार्टनरलाई बताउनु उचित हुँदैन । किनभने सहयोग भनेको हार्दिकताका साथ खुला हृदयले गर्ने हो । यसरी कसैलाई सहयोग गरिन्छ भने त्यसलाई प्रचार गरिरहनु आवश्यक छैन ।

स्रोत  :अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *