Sajhamanch Archive

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा प्रहरीमाथि ढुङ्गामुढा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by .

कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आइतबार राति निधन भएका ६० वर्षीय कोरोना संक्रमित वृद्धको शव व्यवस्थापनमा जनप्रतिनिधिले नै अवरोध गरेका छन्।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन बास्तोला, वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङ लगायतले नै शव व्यवस्थापनमा अवरोध गरेका थिए।

स्याङ्जाको वालिङ घर भएका मृतकको जातीय परम्परा अनुसार शव गाड्न पोखराको रिठ्ठाघाट लगिएको थियो। मृतक गुरुङ समुदायका हुन्। शव बोक्नका लागि एम्बुलेन्स तयार नभएका कारण दिनभर शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै आइसोलेसन कक्षमा रहेको थियो।

अवरोध गर्ने क्रममा जनप्रतिनिधि सहित स्थानीयको टोलीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढाका कारण ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्सपेक्टर नरहरी अधिकारीले बताए।

घाइते प्रहरीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ। शव व्यवस्थापनमा अवरोध पुर्याउने १६ जनालाई नियन्त्रणमा लिएको उनले बताए।

ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिने क्रममा केही स्थानीय समेत घाइते भएका छन्। घाइते हुनेमा पोखरा ११ का वडाध्यक्ष बास्तोला समेत रहेका छन्। ‘मलाई ३ ठाउँमा चोट लागेको छ,’ उनले सेतोपाटीलाई भने, ‘हाम्रा साथीहरुलाई प्रहरी हिरासतबाट निकालेर मात्र उपचार गर्न जान्छु।’

प्रहरीलाई अवरोध गर्न खोज्दा आफु सहित केही घाइते भएको र प्रहरी हिरासतमा रहेकाहरु पनि घाइते भएको हुन सक्ने उनले बताए।

प्रहरी टोलीले जबरजस्ती शव व्यवस्थापन गरेको उनले बताए। शवको व्यवस्थापन पश्चिमाञ्चल अस्पतालबाट नजिकै पर्ने रामघाटमा गर्नुपर्ने भन्दै उनीहरुले प्रहरीलाई अवरोध गरेका थिए।

‘हामीसँग कुनै समन्वय नै भएन’, बास्तोलाले भने, ‘मेयरले रिठ्ठाघाटमा गाड्ने भनेर निर्णय गर्नुभएछ, त्यसैमा हाम्रो चित्त बुझेन।’ अरु ठाउँमा स्थानीयले विरोध गरेकाले महानगरका मेयरले रिठ्ठाघाटमा शव व्यवस्थापन गर्न ल्याएको उनले आरोप लगाए।

यता, पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने अरु ठाउँ भन्दा उपयुक्त भएर नै रिठ्ठाघाटमा शव व्यवस्थापन गर्ने निर्णय गरेको बताए। रामघाटमा खाल्डो खन्न मेसिन जान नसक्ने अवस्था आएपछि रिठ्ठाघाटमा शव व्यवस्थापन गरेको उनको भनाइ छ।

‘परिवारले परम्परा अनुसार गाड्न पाए हुन्थ्यो भन्नुभयो,’ जिसीले भने, ‘सुरक्षाका उपाय अपनाएर ६ फिट गहिरो खाल्डोमा शव गाडिएको छ, कोही आत्तिनुपर्दैन।’ घाट सबैको साझा भएकाले कसलाई ल्याउने कसलाई नल्याउने भन्ने नहुने भन्दै उनले भने, ‘मरेपछि कात्रो र दुई मिटर जमिन पाउने हो भन्ने भनाइ थियो, अहिले त्यही पनि नपाउने भयो।’

उपचारका लागि श्रीमतीसहित भारत पुगेका वृद्ध लकडाउन भएपछि उतै थुनिएका थिए। सुनौली नाकाबाट नेपाल आएका उनी गत २३ गते पश्चिमाञ्चल अस्पतालमा भर्ना भएका थिए।उनको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए। मृतक वृद्धलाई किड्नी सम्बन्धी रोग, मधुमेह लगायतका समस्याहरु समेत रहेको डा. अचार्यले बताए।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *