Sajhamanch Archive

एक महिनासम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

बैतडी । भारतबाट फर्किएका नागरिकले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि आरडिटी गरेर नेगेटिभ आए घर पठाइन्छ। पोजेटिभ आए स्वाब संकलन गरी पिसिआर गरिने गरिएको छ। तर बैतडीमा क्वारेन्टाइनमा बसेको १ महिनासम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाएको रिपोर्ट आएको छैन।

शिवनाथ गाउँपालिका वडा नं.१ का तीन जना क्वारेन्टाइनमा बसेको २७ दिन पूरा भइसक्यो। तर उनीहरूको क्वारेन्टाइन बसाई अझै पनि टुंगिएको छैन्। सुरुमा दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भनेकाले आफूहरू स्वदेश फर्केलगत्तै क्वारेन्टाइनमा बसेको भए पनि महिना दिनसम्म क्वारेन्टाइनमै बस्नुपरेको उनीहरूले बताएका छन्।

आरडिटी रिपोर्ट पोजेटिभ देखिएका उनीहरूको पिसिआर रिपोर्ट अझै नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। शारदा मावि क्वारेन्टाइनमा बसेका तीन जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको र तीमध्ये एक जनाको नेगेटिभ आएको तर दुई जनाको रिपोर्ट नआउँदा तीनै जना क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन्।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकको पनि आरडिटी पोजेटिभ आएको भए पनि पिसिआर परीक्षण हुन सकेको छैन। भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका बैतडीका ५ हजार ३ सय ६ जनाको आरडिटी गर्दा ४ सय १८ जनाको पोजेटिभ देखाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

१४ दिन क्वारेन्टाइन अवधि पूरा गरेकाको आरडिटी गरिएको हो। सबैभन्दा बढी आरडिटी पोजेटिभ शिवनाथ गाउँपालिकामा १ सय ५३ जना रहेका छन्। आरडिटी पोजेटिभ देखाएकामध्ये ३ सय जनाको स्वाब संकलन गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

आजदेखि स्वाब संकलन गरिने

बैतडीमा क्वारेन्टाइनमा बसी आरडिटी पोजेटिभ देखिएकाको बुधबारदेखि स्वाब संकलन हुने भएको छ। गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलनमा रोक लगाएको थियो। धनगढी प्रयोगशालामा स्वाबको चाप बढेपछि मन्त्रालयले सुदूरपश्चिमभर ५ दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो।

स्वाब संकलनपछि पनि उनीहरूको पिसिआर रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमै बस्नुपर्ने भट्ट बताउँछन्। सुदूरपश्चिममा एक मात्र प्रयोगशाला धनगढीमा छ।

क्वारेन्टाइन अवधि लम्बिँदा तनाब

यहाँका तीन सय बढी नागरिकको क्वारेन्टाइन बसाइ लम्बिएको छ। सुदूरपश्चिममा स्वाब संकलन कार्य रोकिएपछि आरडिटी पोजेटिभ देखिएकाहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन्। उनीहरूलाई निर्धारित १४ दिनपछि पनि क्वारेन्टाइनमै राखिएको छ।

शिवनाथ गाउँपालिकाका एक सय बढी नागरिक क्वारेन्टाइनको अवधिपछि पनि क्वारेन्टाइनमै छन्। आरडिटी पोजेटिभ देखिएका उनीहरूले छिटो स्वाब संकलन गरेर परीक्षण गर्न माग गरिरहेका छन्। जसका कारण क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन रोकिएपछि उनीहरू आक्रोशित भएका छन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *