Sajhamanch Archive

एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बेग्ला बेग्लै ठाउँबाट यसमा संलग्न एम्बुलेन्ससंग ३ जना र ट्यांकरसंग २ जना गरी प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

ना४च ८५९९ नम्बरको एम्बुलेन्बाट एम्बुलेन्समा गाँजा ओसारी रहेका अवस्थामा प्रहरीले तीन जनालाई रंगेहात पक्राउ गरेको हो । बुधबार बिहान करिब पौने ३ बजे पर्सा वीरगन्ज महानगरपालिका–२७ पर्ने रामपुरबाट एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जनकारी गराइन । उक्त एम्बुलेन्स बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित अल्पाइन मेडिकल कलेज सिमराको हो ।

प्रहरीका अनुसार पर्साको बहुदरमाई–५ भौराट्टारतिर लैजादै गर्दा बरामद भएको एम्बुलेन्समा ५६ किलो प्रतिबन्धित लागु पदार्थ गाँजा बरामद भएको हो । गाँजासहित पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपािलका–१५ का २३ वर्षीय जितबहादुर वाइबा, २२ वर्षीय दिलबहादुर वाइबा र पर्साको बहुदरमाई–५ का ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।

भारततर्फ उक्त गाँजा तस्करी निकासी गर्नका लागि लैजान लागिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको पन्तले जनाइन । ‘बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले आवहान गरेको बन्दाबन्दी (लकडाउन) को मौका पारी लागु औषध गाँजा ओसार पसार हुदैछ भन्ने विशेष सूचनाको आधारमा जेठ २८ गते अन्दाजी पौने ३ बजेको समयमा प्रहरी अधिकृत सहितको प्रहरी टोलीले, एम्बुलेन्ससहित मानिसहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय पर्साको बिज्ञप्तिमा छ ।

यसैविच अल्पाइन अस्पताल सिमराका प्रबन्ध निर्देशक शिवकुमार शर्माले एउटा प्रेस बिज्ञप्ति प्रकाशित गर्दै घट्नामा अस्पतालको एमबुलेन्स प्रयोग भएकोमा अस्पताल संचालकको कुनै संलग्नता नभएर चालकको गल्ती भएको भनी सफाई दिएका छन् ।

ट्यांकरमा रक्सी तस्करी

त्यस्तै प्रहरीले यहाँ पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बुधवार बिहान साढे ६ बजेको समयमा बीरगंज –१६ रजतजयन्ती चोकमा चेक जाँचको क्रममा ना।२ ख ७३७५ नं।को तेल ट्यांकरमा विभिन्न ब्राण्डका रक्सीहरु लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रक्सीको चोरी निकासी गरी भारततर्फ लैजान लागेको भनी प्राप्त सुचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले १ सय ३३ बोतल बिभिन्न आकार र ब्राण्डका रक्सी बरामद गरेको थियो ।

ट्याङकर तथा त्यसका चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका –बस्ने ४७ वर्षिय सन्दिप थिङ र सहचालक हेटौडा –२१ बस्ने २२ वर्षे राधे बुढाथोकीलाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको जिल्ला प्रहरी पर्साले जनाएको छ ।

स्रोत : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *