Sajhamanch Archive

दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

श्रीमान र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन र ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरंग क्षण साटिरहेका हुँदैनन् किन र ?

किनभने उनीहरुबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात फेसबुक, इन्स्टाग्राम, ट्वीटर इत्यादि । जब उनीहरु सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, ट्वीटरमा एकोहोरिन्छन् ।

जब दम्पतिबीच सम्वाद हुन छाड्छ वा सम्वादको वातावरण विथोलिन्छ, तब स–सना असमझदारी बढ्छ । स–सना समस्याहरुको जन्म हुन्छ । त्यही सानो कुरा विस्तारै हुर्कन्छ । र, यस्तो अवस्था आउँछ कि त्यसले श्रीमान्–श्रीमतिबीच शंका–उपशंका पैदा हुन्छ । त्यसपछि एकअर्कामा असमझदारी बढ्छ । मनमुटाव हुन्छ । ठाकठुक पर्छ ।

तपाईंलाई लाग्दो हो, जाबो फेसबुक चलाउँदैमा त्यस्तो हुन्छ र  ?

निश्चय पनि फेसबुक, ट्वीटर, इन्स्टाग्राम चलाउँदैमा त्यस्तो हुँदैन । तर, जड त्यही हो । जब तपाईंको लगाव सामाजिक सञ्जालमा बढ्न थाल्छ, तपाईं भर्चुअल संसारमा हराउन थाल्नुहुन्छ । नयाँ–नयाँ सम्बन्ध स्थापित हुन थाल्छ । नयाँ साथी–सर्कलमा प्रवेश गर्नुहुन्छ । यसको साइड इफेक्ट के हुन्छ भने, तपाईं वास्तविक धरातलमा रहन सक्नुहुन्न ।

घरव्यवहार के भइरहेको छ, बच्चाहरुको अवस्था के छ, विद्यालयमा के भइरहेको छ, बुबाआमाको स्वास्थ्यस्थिती के छ, विद्युत वा पानीको बिल बुझाइयो वा बुझाइएन यावत् कुराहरुमा गडबडी हुन थाल्छ । यसै कुराले विस्तारै तपाईंको पारिवारिक जीवनलाई गाँठो पार्दै लान्छ । र, एउटा जालोमा फसाइदिन्छ ।

सामाजिक सञ्जालमा हामी यति धेरै लिप्त हुन थालेका छौं कि, पारिवारिक मूल्य र मान्यताहरु ओझेल पर्न थालेका छन् ।

सामाजिक सञ्जालमा लिप्त भईरहँदा दम्पतीबीचको सम्वाद टुटेको छ । स्वभावैले मानिसलाई रमाइलो गर्न मन लाग्छ । हातमा स्मार्टफोन हुँदा र फेसबुक चलाइरहँदा घरायसी कुरा गर्न कसरी जाँगर चल्छ  ?

हामी सजिलो खोज्छौं, रमाइलो खोज्छौं । त्यही कारण त श्रीमती–श्रीमान् एकै ठाउँमा भएर पनि नभएजस्तो हुन्छ । दुबैको उपस्थिती र सामिप्यता एकअर्काले महसुष नै गर्दैनन् । न उनीहरुबीच घरायसी कुराकानी हुन्छ । न प्रेमिल संवाद नै ।

यसरी सामामाजिक सञ्जालमा फसेर दम्पतिले आसपी सम्बन्धमा तित्तता ल्याउँछ ।

अर्कोतिर समस्या जटिल छ । सामाजिक सञ्जालकै कारण अहिले सम्बन्ध विच्छेदको घटना बढेको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि घरको सामान्य कामधन्दा नै प्रभावित भएको छ । छोराछोरी बिचल्ली परेका छन् । त्यती मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर विवाहेत्तर सम्बन्ध स्थापित हुने आशंका पनि प्रवल हुँदै गएको छ । क्षणिक रुपमा मनोरञ्जन लिने हेतुले जोडिएका कतिपय सम्बन्धहरु विस्तारै जटिल अवस्थामा प्रवेश गरेको पाइन्छ । यसले अन्ततः दम्पतिबिच संशय पैदा गर्ने मात्र होइन, कलहको विऊ नै रोप्ने गरेका छन् । यसरी सामाजिक सञ्जालको प्रयोगले दम्पतीमा विकृति भित्रिएिको छ ।

कतिपय श्रीमान् श्रीमतीको झगडा सामाजिक सञ्जालकै निहुँमा हुनेगर्छ । पासवर्डको विषयमा झगडा भएर दाम्पत्य सम्बन्ध टुट्न पुगेको घटना पनि समाजमा भेट्न सकिन्छ । अहिले दम्पतीबीचको सम्बन्ध विच्छेदको घटना कहालिलाग्दोगरी बढेको छ । र, त्यसमा एउटा प्रमुख कारण सामाजिक संजाल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *