Sajhamanch Archive

पहिरोले पुरिँदा दुईको मृत्यु, सात जना बेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

पर्वत । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता भएका छन्।

कुश्मा नगरपालिका वडा नं.३ दुर्लुङमा स्थानीयका दुई घर पुरिँदा दुई  जनाको मृत्यु भएको हो भने सात जना बेपत्ता भएका हुन्।

वडा अध्यक्ष तेजप्रसाद शर्माका अनुसार स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरिएको हो। पहिरोले पुरिँदा थापाकी श्रीमती र एकजना नातिनिको मृत्यु भएको छ। उनीहरुको शव फेला परेको छ भने चारजना बेपत्ता भएको शर्माले बताए।

त्यस्तै विकको घर पनि पहिरोले पुरिँदा विक सहित छोरा र छोरी पनि बेपत्ता भएको उनले बताए। ‘पहिरोमा सातजना पुरिएको थाहा भएको छ। दुईजनाको मात्र शव फेला परेको छ,’ उनले भने। शर्माका अनुसार मृत्यु र बेपत्ता हुनेको नाम खुलेको छैन।

राती करिब ९ बजेतिर खसेको पहिरोले उनीहरुको घर पुरिएको शर्माले बताए। बेलुकी पाँचबजेपछि त्यस क्षेत्रमा लगातार भीषण वर्षा भएको थियो। पहिरोले घर र मान्छे पुरिएको थाहा पाएपछि सदरमुकाम कुश्माबाट सेना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको भएपनि रातीको समय परेकोले खोजी र उद्धारमा समस्या परेको शर्माले बताए।

‘माथिबाट अरु पहिरो झर्ने जोखिम छ। हराएका मान्छे तत्काल भेटिने सम्भावना छैन,’ वडाअध्यक्ष शर्माले भने, ‘सेना र प्रहरी उद्धारमा खटिएको भएपनि वर्षाका कारण अप्ठेरो भएको छ ।’ पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार थापा र विकको घर पहिरोमा बगेका थिए।

स्रोत  : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *