Sajhamanch Archive

पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ ।

जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो । सेनाको टोलीले इनर्वामा लगेर अन्तिम संस्कार गरेको थियो । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाका अनुसार महानगरपालिकाले दिएको स्थानमा प्रोटोकल अनुसार शवको अन्त्येष्टि गरिएको हो ।

‘शव प्रहरीले फेला पारेको हो । नारायणीमा स्वाब लिनुको साथै पोष्टमार्टम भएको हो,’ उनले भने, ‘प्रशासनको आग्रहपछि महानगरपालिकाले दिएको लोकेसनमा प्रोटोकल अनुसार दाहसंस्कार गरेका हौं ।’

पहिचान नखुलेका कारण उनी कसरी कोरोना संक्रमित भए भन्ने अझै पत्ता लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले पहिचान खुलाउनका लागि मृतकको फोटो राखिएको बताइन् । ‘बेवारिसे भएकोले पहिचान खुलाउन समय लाग्ने देखियो, कोरोना संक्रमण पनि देखिएको र वेवारिसे शव लामो समय राख्दा थप समस्या आउन सक्छ भन्ने भयो,’ उनले भनिन्, ‘पहिचानका लागि मृतकको फोटो लिएकै थियौं । प्रशासनको आदेश अनुसार नेपाली सेनाले दाहसंस्कार गरेको हो ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *