Sajhamanch Archive

धानको बिउ ब्याडमै सुक्न थालेपछि झापाका किसान चिन्तित

Published: in मिडियाबाट साभार, समाज by .

झापा । झापाका किसान यतिबेला धानको ब्याड नै सुक्न थालेपछि थप समस्यामा परेका छन्। चैते धानमा दाना नलाग्ने, बाला तथा बोट सुृक्ने र फौजी किराको समेत मार खेपेका किसान यतिबेला दिक्क भएका छन्।

रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको छ। दमक १० का किसान भिरेन्द्र न्यौपाने भन्छन्, ‘जसोतसो खोजेर बिउ राखेको थिएँ, त्यो पनि मर्न थाल्यो, अब कसरी खेत रोप्नु रु’ सामान्यत किसानले मंसिरे धानको ब्याड जेठको पहिलोदेखि तेस्रो सातासम्म राख्ने गर्दछन् । तर यो वर्ष छरेको बिउ ब्याडमै मर्न थालेपछि किसान हैरान भएका छन्।

ब्याडमै बिउ मर्न थालेपछि त्यही बिउ रोप्ने या फेरि अर्को ब्याड बनाउने दोधारमा उनीहरु छन्। दमक १० का अर्का किसान डम्बरुबल्लभ न्यौपाने पनि यस्तै गुनासो गर्छन्। अहिले यस क्षेत्रका अधिकांश किसानका ब्याडका बिउ मर्न थालेको छ ।

फैलिँदो संक्रमण

सुरुमा पातमा रातो टीका जस्तो देखिने र त्यसपछि त्यो बढदै गएपछि पूरै ब्याडको बिउ मर्ने गरेको छ। धानको बिउमा यस्तो लक्षण देखिएको एक साताभित्र पूरै ब्याडमै संक्रमण फैलिएर बिउ मर्ने गरेको किसानहरुले बताउने गरेका छन्।

सम्बन्धित निकायलाई स्थलगत निरीक्षण गरेर समस्याको पहिचान गरिदिन मागसमेत आफूहरुले गरेको किसान अर्जुन दाहालले माग गरे। भने, ‘स्थानीय सरकारले विज्ञ तथा प्राविधिक पठाएर अनुगमन तथा निरीक्षण गरिदिए हुने।’ नत्र किसानका खेत बाँझै रहने अवस्था आउनेमा उनी चिन्तित छन्।

थपिँदै भोकमारी चिन्ता

कृषि प्राविधिकहरुले भने ब्याक्टेरिया र ब्लास्ट रोगका संक्रमण ब्याडमा देखिएको बताएका छन्। यसका लागि प्राविधिकको सल्लाहअनुसारै समयमै विषादी प्रयोग गर्नसके नियन्त्रणमा आउने कृषि प्राविधिक होम आङवो बताउँछन्।

विशेष गरी सर्ना जातको धानको ब्याडमा यो रोगको संक्रमण बढी देखिएको उनले बताए। यो समस्या समाधानका लागि समयमै ध्यान नदिए धानको उत्पादनमै गिरावट आउने उनले चेतावनी दिए।

स्रोत : ईपूर्व डटकम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *