Sajhamanch Archive

६ घण्टाभन्दा कम निद्राले कस्तो जोखिम ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ । जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । ताजापन र स्फूर्ति महसुष हुन्छ । जसरी स्वस्थ जीवनको लागि गहिरो निद्रा अपरिहार्य छ, त्यसरी नै निद्रा विथोलिएमा अनेकन रोगको भय रहन्छ ।

अनिद्रा आफैमा एक समस्या हो । त्यसले अरु समस्यालाई निम्त्याउँछ ।

अनिद्राबाट तुरुन्त हुने असर भनेको शरीर आलस्य वा भारी महसुष हुनु हो । यसले हाम्रो दैनिक कार्यक्षमतामा समेत प्रभाव पार्छ । तर, अनिद्रा वा अपुग निद्राले यतिमात्र समस्या ल्याउँदैन । उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगदेखि अरु थुप्रै किसिमको रोग निम्त्याउँछ ।

त्यसैले कति र कस्तो निद्रा लिने भन्ने कुरामा चिकित्सकहरुले एउटा मानक तयार गरेका छन् । उनीहरु भन्छन् शारीरिक स्वास्थ्यका लागि ७ वा ८ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ ।

त्यसो त हाम्रा पूर्खाहरुले पनि शारीरिक स्वास्थ्यका लागि निद्राको आवश्यक्ता बोध गरेरै सुत्ने एवं उठ्ने तालिका निर्धारण गरे । उनीहरुले राती चाडै सुत्ने र बिहान सबेरै उठ्ने तालिका अभ्यास गरे ।

युवाहरुको विथोलिएको सुत्ने संस्कार

पूर्खाहरुले निर्धारण गरेको सुत्ने र उठ्ने तालिकालाई अहिलेको पुस्ताले भने पालना गरेका छैनन् । उनीहरुको न सुत्ने तालिका नियमित छ, न उठ्ने । कतिपय युवाहरु रातभर जाग्ने र बिहान अबेरसम्म सुत्ने गर्छन् ।

इन्टरनेटको सहज पहुँच, मोवाइल एवं सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवा पुस्तो सुत्ने संस्कार पनि भंग हुँदैछ । अहिलेका धेरैजसो युवा राती चाडै सुत्दैनन् । बिहान सूर्योदयअघि उठ्दैनन् । यसले उनीहरुमा स्वास्थ्य जोखिम बढ्दैछ ।

कम निद्राले रोगको जोखिम

विशेषज्ञहरुका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निद्रा पुरा नहुनाले हाम्रो शरीरका कोषहरुमा क्षति पुग्छ । यसले शरीरको सन्तुलन बिग्रन्छ । यसैगरी निद्रा पुरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम पनि बढ्ने चिकित्सकहरु बताउँछन् ।

अनिद्राले वेचैनी वा तनावको स्तर बढ्छ । यससँगै पाचन प्रक्रियामा समेत समस्या आउन सक्छ ।

शरीरको जैविक घडी विपरित सुत्ने र उठ्ने गर्दा त्यसैपनि स्वास्थ्य समस्या देखापर्ने नै भयो । त्यसमाथि अनिद्राले बेचैनी, चिन्ता र छटपटी बढाइदिएको छ ।

शरीरलाई जसरी खाना, पानी र वायुको आवश्यक्ता पर्छ, उसैगरी विश्रामको पनि । कुनै न कुनै रुपमा सक्रिय शरीरलाई निश्चित अवधीमा विश्राम चाहिन्छ । निदाउनु एक विश्रामकै क्षण हो ।

गहिरो निद्राका लागि

गहिरो र पर्याप्त निद्राका लागि निश्चित समय तालिका अनुसार सुत्ने र उठ्ने अभ्यास गर्नु जरुरी छ । सधै एउटै समयमा सुत्ने र उठ्ने गरेमा सोही अनुसार हाम्रो शरीर पनि अभ्यस्त हुन्छ । खासगरी राती चाडै सुत्ने र बिहान सबेरै उठ्ने अभ्यास स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

त्यसो त गहिरो निद्राका लागि समूचित शारीरिक श्रम वा व्यायाम पनि आवश्यक हुन्छ । यसैगरी मनलाई शान्त तुल्याउन प्राणायाम र ध्यान विधी उपयुक्त हुन्छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *