कारबाहीको माग गर्दै गगन थापाविरुद्ध विद्यार्थीको प्रदर्शन
Published:
by .काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापा र झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाइँले दिएको आपत्तिजनक अभिव्यक्तिविरुद्ध बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी आन्दोलित भएका छन् ।
थापा र प्रसाइँको अभिव्यक्तिका कारण आफूहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरूमाथि कारबाही माग गर्दै विद्यार्थीले चरणवद्ध आन्दोल घोषणा गरेका छन् । बंगलादेशमा नेपाली विद्यार्थीको संगठन नेपाल स्टुडेन्ड युनियनले आइतवार आन्दोलनका कार्यक्रम सार्वजनिक गदै थापा र प्रसाइँलाई कारबाहीको माग गरेको छ ।
डा.गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसलाई सम्बोधनका क्रममा नेता थापाले चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न जाने ९० प्रतिशत बढी नेपाली विद्यार्थीले सर्टिफिकेट किन्ने गरेको आरोप लगाएका थिए । त्यस्तै प्रसाइँले नेपाली चेलीहरू डाक्टरको सर्टिफिकेट लिन आफ्नो अस्मिता बेच्ने गरेको आरोप लगाएका थिए ।
युनियनले विज्ञप्तिमा जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पुराएको भन्दै कारबाहीको माग गरेको छ ।
आन्दोलित विद्यार्थी युनियनले सोमवार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरूले साउन १७ गते ढाकामा सांकेतिक विरोध गर्ने र १८ गते १२ बजेदेखि दूतावासमा धर्ना दिने जनाएका छन् ।
Comments