Sajhamanch Archive

भारतीय एसएसबीले रोकेको पार्क निर्माण स्थानीयले अघि बढाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

इलाम । इलामको माइजोगमाई गाउँपालिका वडा नं.२ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले अघि बढाएका छन्‌। वैशाखको पहिलो साताबाट रोकिएको काम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले फेरि थालेको हो।

काम सुरू भएको जानकारी पाउने बित्तिकै मानेभञ्ज्याङमा रहेको एसएसबीका प्रतिनिधि निर्माणस्थलमा आएका थिए। तर गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति र स्थानीयले प्रष्ट रुपमा सीमास्तम्भले नेपाल–भारत छुट्याइएकाले काम नरोक्ने अडान लिएका हुन्‌। ‘काम रोक्नका लागि एसएसबीले दबाब दिएका थियो, तर हामीले मानेनौँ, आफ्नो भूमिमा भएको काम किन रोक्ने भन्दै अघि बढाएका हौं, गाउँपालिका अध्यक्ष राईले भने।

यो पार्क निर्माण गर्न प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कोरोना महामारीको जोखिमबीच पनि सुरक्षाका उपाय अपनाउँदै उपभोक्ता समितिमार्फत काम अघि बढाइएको छ। यो पार्क सन्दकपुर-मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्छ। तुम्लिङ्गमा नो म्यान्सल्याण्डु भन्दा ३ सय मिटर नेपालतर्फ नै पार्क निर्माण भइरहेको छ।

काम सुरू भएको २ दिन नबित्दै एसएसबीले पार्क निर्माणका लागि अनुमति नलिएको भन्दै रोकेको थियो। एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफूलाई पहिलै जानकारी गराउनुपर्ने अडान राखेको थियो। भारतीय पक्षले काममा अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी गण इलाम, सीमा सुरक्षा बल पशुपतिनगर र सीमा प्रशासनलाई अवरोध फुकाउन पटक-पटक जानकारी गराइएपनि चासो नदिएपछि स्थानीयको सहयोगमा काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए।

‘प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई र सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका एसपी रोशन श्रेष्ठलाई बारम्बार अवरोध बारे जानकारी गराएका थियौं, तर उहाँहरूले समस्या समाधानका लागि पहल गर्न चासो दिनुभएन, बारम्बार आलटालमा मात्र भइरह्यो’, गाउँपालिका अध्यक्ष राईले भने, ‘आर्थिक वर्ष सकिन लाग्दा बजेट फ्रिज हुने देखियो, त्यसैले १५-२० जना स्थानीय र उपभोक्ता समितिसहित रोकिएको पार्क निर्माणलाई पुनः अघि बढाएका हौं।’

तुम्लिङ्ग क्षेत्रमा वैशाख महिनाको पहिलो सातादेखि पार्क निर्माण थालिएको थियो। प्रदेश सरकारको शहरी तथा भवन डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने योजनाको काम सुरू हुने बित्तिकै एसएसबीले मजदुरलाई काम नगर्न भनेको थियो। त्यसपछि पार्क निर्माणकार्य २ महिना देखि रोकिएको थियो।

सीमा क्षेत्रमा हुने विकास निर्माणका कार्यमा एसएसबीले बारम्बार अवरोध गर्दै आएको छ। भारतले भने सीमा क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट नै स्थापना गरेको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *