Sajhamanch Archive

संघीय सरकारले छाडेको कोसी करिडोर स्थानीय तहले बनाउने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

उदयपुर  ।  अलपत्र अवस्थामा रहेको कोशी करिडोर बन्ने भएको छ। उदयपुरका तीन स्थानीय तह कटारी, ताप्ली, लिम्चुङबुङले निर्माण गर्ने भएका छन्।

 मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोर उदयपुरको घुर्मी–चतरा सडक उदयपुरका तीन स्थानीय तहले निर्माण गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिए। वन कार्यालयले रोकेपछि १६७ किलोमिटर दूरी भएको सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो। ३ गते बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष विनोद कटुवालको अध्यक्षतामा कटारी नगरपालिका कार्यालयमा बसेको सर्वपक्षीय बैठकले संघीय सरकारले अलपत्र पारेको सडक स्थानीय तहले निर्माण गर्ने निर्णय गरेको छ।

संघीय सरकारले १० वर्षअघि निर्माण सुरु गरेर अहिले अलपत्र पारेको कोसी करिडोर उदयपुरका तीन स्थानीय तहले संयुक्त रुपमा चार करोड लगानी गर्ने भएपछि कोसी करिडोर बन्ने भएको हो। २०६७ मा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न सुरु गरेका थिए। तर साविकको जिल्ला वन कार्यालय उदयपुरले प्रक्रिया पूरा नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै रोकेको थियो। उदयपुरको घुर्मीबाट सुनसरीको चतरासम्मको १६७ मध्ये ६० किलोमिटर सडकमा ट्रयाक खोल्न ०६७ मै टेन्डर लागेर काम सुरु भएको थियो।

 ताप्ली गाउँपालिका उदयपुरका अध्यक्ष उद्धवसिंह थापाले वन कार्यालयले इआइए गरेर काम अघि बढाउन सरकारी प्रक्रिया टुंग्याउँदा पनि काम सुरु नभएपछि स्थानीय तहले मिलेर सडक निर्माण गर्न लागेको बताए।

कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका सर्वसाधारणलाई सुविधा पु¥याउने छ। यस्तै यो सडक खोटाङ, सोलुखम्बु, ओखलढुंगालाई प्रदेश १ को राजधानी विराटनगरसँग जोड्ने छोटो दूरीको सडक हो।

अहिले कटारी नगरपालिकाको घुर्मी बजारबाट लिम्चुबुङको गाउँपालिकाको कुनाही घाटसम्म निर्माण गर्ने गरी चार करोड विनियोजन गर्ने निर्णय गरेको लिम्चुबुङका अध्यक्ष राईले बताए। उदयपुरका सात स्थानीय तहमा कोसी करिडोरले छुनुका साथै विराटनगर, काठमाडौंलगायत सहर पुग्ने छोटो दूरीको यस करिडोर बन्दा कृषि, पर्यटनमा फाइदा पुग्ने अध्यक्ष राईले बताए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *