Sajhamanch Archive

इस्टु आन्दोलनमा एक हजार बढी सहभागी हुने

Published: in विविधा by .

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि असार १९ गते विर्तामोडमा गर्न लागेको प्रदर्शनका लागि अन्तिम तयारी पूरा गरेको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको, सरकारले समेत सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टु सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो ।

बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकाम्सले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको छ भने सामाजिक न्याय र बाँच्न पाउने अधिकार समेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आउन बाध्य भएका हुन् ।

आन्दोलन परिचालन समिति झापाको नेतृत्व सम्हालिरहेका इस्टु नेपालका केन्द्रीय सदस्य बालकृष्ण दाहालका अनुसार विर्तामोडमा हुने प्रदर्शनमा एक हजार बढी शिक्षक कर्मचारी सहभागी हुने छन् । १५ वटा स्थानीय तह रहेको झापामा प्रति स्थानीय तहबाट न्युनतम ५० देखि सयसम्म शिक्षक कर्मचारी आन्दोलनमा आउने निश्चित भइसकेको छ । शान्तिपूर्ण र सामाजिक दुरी कायम गर्दै प्रदर्शन हुने छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई काम लगाउने अधिकाम्स विद्यालयका सञ्चालकले बन्दाबन्दीको बाहना बनाएर शैक्षिक वर्ष २०७६ कै दिनु पर्ने तलव रोकिदिएपछि भोकमरी खपेर शिक्षक कर्मचारीले कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका छन् । शिक्षक कर्मचारीका लागि ३ तहका सरकारले पनि बेवास्ता गरेपछि बन्दाबन्दीको असरका कारण सडकमा आउनु पर्ने वातावरण निर्माण भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *