Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले बुझायो आयल निगमलाई ज्ञापनपत्र

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ ।

निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो । लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ ।

अध्यक्ष ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए । अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उनले आग्रह गरे ।

लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानविय कार्य भएकाले मुल्यवृद्धि तत्काल खारेज गर्न मागरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए ।

विभिन्न शिर्षकमा अनावश्यक र उपयोग बिहीन कर संकलन गरी उपभोक्तामा ब्ययभार थोपर्ने कार्य बन्द महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

उनले भने, ‘३८ रुपयाँमा किनेको पेट्रोल मा थप ६३ रुपैयॉं कर थोपर्नु जनता चुस्ने नियत हो । जनताको चुलोमा प्रत्यक्ष असर गर्ने पेट्रोलियम पदार्थको मुल्य बृद्धि तत्काल खारेज गर्दै सामाजिक उतरदायित्व बहन गर्ने अवसरको सदुपयोग गर्न नेपाल आयल निगमको गम्भीर बन्नुपर्छ ।’

अन्यथा नेविसंघ कडा आन्दोलनमै उत्रने उनले चेतावनी दिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए । मागहरु सकारात्मक भएको उल्लेख गर्दै उनले साना कुरालाई पनि विवादीत गरेर निगमलाई कमजोर बनाउने ठूलो तप्का लागि परेको बताए । उनले मुल्यवृद्धिलाई नियमित प्रकृयाको रुपमा लिन आग्रह समेत गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *