Sajhamanch Archive

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाएको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसयता असार २८ सम्म कम्तीमा ४ पटक उद्धार उडानको तालिकाको समय थपिएको थियो ।

‘यो अवधिमा नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नका लागि असार २८ पछि उद्धार उडान हुने छैनन्,’ उद्धार उडान अनुमतिमा संलग्‍न मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले भने । लामिछानेले कुनै मुलुकमा उद्धार नगरी नहुने भएमा विशेष अनुमति दिइने नत्र कुनै पनि प्रकारका अन्तर्राष्ट्रिय चार्टर उडान नहुने बताए । ‘तर, औषधिजन्य कार्गो उडानलाई भने अनुमती दिइने छ,’ सहसचिव समेत रहेका लामिछानेले भने, ‘समिक्षा सकिएपछि फेरि उद्धार उडान गर्नुपर्ने आवश्यकता भए सरकारले निर्णय गर्ने छ ।’

हाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्धार उडानका लागि अनुमति दिएको छ भने विदेशी वायुसेवातर्फ कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज लगायतलाई नेपाली नागरिकको उद्धार गर्न अनुमति दिएको छ । एकतर्फी मात्रै यात्रु रहने यी चार्टर उडानमा सरकारले भाडाको सीमा तोकेको छ ।

पछिल्लोपटक उद्धार उडानमा संलग्‍न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको हो । त्यस्तै विदेशबाट नेपाल फर्केकाहरुमा पनि संक्रमण पुनः देखा परेपछि उद्धार उडान तत्काल रोक्दै समिक्षा गर्न खोजिएको मन्त्रालयका एक अर्का अधिकारीले बताए ।

स्रोत : कान्तिपुर दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *