Sajhamanch Archive

दाङ, बागलुङ र जुम्लामा सलहको नयाँ झुण्ड, अर्घखाँची र प्युठानमा सर्तकता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखिएको छ । आइतबार बिहान साढे ९ बजे दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको र अन्य दुई झुण्ड भने पहिल्यै नेपाल भित्रिएका सलह पुनः सक्रिय भएको सलह सूचना केन्द्रले जनाएको छ ।

आइतबार विहान साढे ९ बजे भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलह झुण्डहरुमध्ये एउटा झूण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाकामा बसेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।

‘गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेका ती सलह  पुनः दिउँसो १ बजेतिर उत्तरपूर्वतर्फ उडेको छ, तीनीहरु ल्याण्ड गरिनसकेका कारण पहाडी  जिल्ला प्यूठान र अर्घखाँचीमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ,’ सुवेदीले भने । आज भित्रिएको सलह संख्याका हिसावले ठूलो रहेको पनि केन्द्रले जनाएको छ ।

राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा देखिएको सलह स्थानीय कृषक तथा समूदायबाट अवरोध भएपछि प्यूठान र अर्घाखाँची लगायतका छिमेकी जिल्लामा प्रवेश गर्न सक्ने देखिएको केन्द्रले जनाएको छ ।

यस्तै बागलुङ र जुम्लाका विभिन्न ठाउँमा सानो संख्यामा सलहको झुण्ड देखिएको सूचना केन्द्रलाई प्राप्त भएको सुवेदीले जानकारी दिए ।‘असार १३ गते नेपाल प्रवेश गरेको सलह पानी परेका कारण निष्कृय भएको र घाम लागेपछि पुनः सक्रिय भएको पाइयो,’ सुवेदीले भने ।

नेपाल भित्रिएको सलहले कृषि बालीमा क्षति गर्न सक्ने भन्दै सतर्क रहन केन्द्रले कृषकलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा रहेको कृषि ज्ञान केन्द्रमार्फत सलह नियन्त्रण गर्न पहल थालिएको पनि केन्द्रले जनाएको छ ।

सलहको अतिरीक्त झुण्डहरु समेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नं ५, २ तथा १ का तराइ र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *