कोरोनाको कारण भानुजयन्तीमा सार्वजनिक समारोह गरिएन, सालिकमा माल्यार्पण मात्रै
Published:
by .विर्तामोड । कोरोना को महामारीको कारण काँकरभिट्टामा यसवर्ष २०७ औं भानुजयन्तीमा सार्वजनिक समारोहको आयोजना गरिएन । तर भानु साहित्यिक प्रतिष्ठानले बैठक बसी आदिकवि भानुभक्त आचार्यप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दै क्याम्पस परिसरमा रहेको पूर्णकदको सालिकमा माल्यार्पण भने गरेको छ ।
काँकरभिट्टा क्याम्पस परिसरमा रहेको पूर्णकदको भानु सालिकमा वर्षेनी असार २९ गते भब्य रुपमा कार्यक्रम गरी माल्यार्पण गर्ने र औपचारिक साहित्यिक कार्यक्रम आयोजना हुने गरेको थियो । ‘कोरोनाको कारण यसपाली औपचारिक कार्यक्रम गरिएन’, प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेले भने–‘प्रतिष्ठानको बैठक बस्यौं र सालिकमा माल्र्यापण गर्यौं ।’
आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि मोतीराम भट्टको प्रयासमा भानुभक्तीय रामायण प्रकाशित भएपछि यो ग्रन्थ घरघरमा भाका हालेर गाउन थालियो र नेपाली भाषा काव्य रचनाको माध्यम बन्यो । नेपालीमाझ लोकप्रिय बन्यो । यो भाषा नेपाली राष्ट्रिय एकताको सूत्र बन्यो ।
भानुभक्त आचार्य तनहुँ जिल्लाको चुँदी, रम्घामा वि सं १८ सय ७१ साल असार २९ गते पिता धनञ्य आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रुपमा जन्मेका थिए । बाल्यकालमा आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा र साहित्यको ज्ञान पाएका उनले एक जना घाँसीको प्रेरणा पाएर नेपाली भाषामा रामायण अनुवादको थालनी गरेका थिए ।
Comments