Sajhamanch Archive

‘क्‍वारेन्टाइनमै मान्छे घटे, कोरोना भाइरसको परीक्षण घटाएका छैनौ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण नघटाइएको बताएका छन्।

दैनिक ४ हजारको हाराहारीमा भइरहेको पिसिआर परीक्षण दर ह्वात्तै घटाई संक्रमित संख्या कमी देखाएको आरोप लागिरहेको अवस्थामा मन्त्री ढकालले कोभिड परीक्षणको दर सरकारले नघटाएको बताएका हुन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालले तयार गरेको सन्देशमूलक सामग्री ग्रहण गर्ने क्रममा मन्त्री ढकालले भने, ‘कतिपयले अनुमान गरे जस्तो परीक्षण नै नगरी संक्रमणको दर घटाएको भन्‍ने कुरामा सत्यता छैन। किनभने अहिले बाहिर (भारत) बाट आएर क्‍वारेन्टाइनमा रहनेको संख्या घटेकाले नमुना संकलन नै कम भएको हो। त्यहीकारण संक्रमण दरमा समेत कमी आएको हो।

’यस्तै मन्त्री ढकालले उनले समुदायमा संक्रमण छ कि छैन भनेर हेर्न अहिले उपत्यकासहित देशभरबाट ४५ हजार बढी नमुना संकलन गरेको बताए। त्यसको नतिजापछि देशमा कोरोना संक्रमणको अवस्था अझै प्रष्ट हुने बताए। मन्त्री ढकालले १५ असारबाट १० हजार जनाको परीक्षण गर्ने घोषणा गरे पनि अहिले त्यसको आवश्यकता नै नरहेको बताए। उनले आवश्यक परेको खण्डमा भने प्रयोगशालाको क्षमता दैनिक १० हजार गर्न सक्ने अवस्थामा रहेको दावी गरे।

उनले भने, ‘हाल हाम्रो क्षमता दैनिक १० हजार परिक्षण गर्न सक्ने छ, तर त्यति धेरै परीक्षण गर्नुपर्ने अवस्था अहिले छैन।’ यस्तै मन्त्री ढकालले कोरोना संक्रमितको संख्या घट्दै जाँदा बाहिरबाट आउनेको व्यवस्थानमा थप सुधार गरेर व्यवस्थित गर्ने योजनामा रहेको बताए।

उनले भने ‘भारतबाट आउनेहरुलाई नाकामै होल्डिङ सेन्टर बनाउने र तेस्रो मुलुकबाट आउनेहरुलाई काठमाडौमा होल्डिङ सेन्टर बनाई सहज र व्यवस्थित परीक्षण गरी ढुक्क भएर मात्रै घर तर्फ पठाउने व्यवस्था मिलाउने योजना गर्दैछौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *