Sajhamanch Archive

बेतलबी विदा दिने निर्णयबाट पछि हटे निजी विद्यालय सञ्चालक

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । साउनदेखि शिक्षक–कर्मचारीलाई बेतलबी विदा दिने निर्णयबाट निजी विद्यालय सञ्चालक पछि हटेका छन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन), एनप्याब्सन र संस्थागत विद्यालय शिक्षक युनियनबीच आइतबार चारबुँदे सहमति भएको हो ।

सहमति अनुसार प्याब्सन र एनप्याब्सनले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको २०७६ चैतसम्मको बक्यौता तिर्न आफ्ना सदस्य विद्यालयहरूलाई निर्देशन दिने भएको छ । लकडाउन अवधीको तलब सुविधाबारे छलफल गर्न कार्यदल गठन गरिएको छ । साथै शिक्षक युनियनले प्याब्सन र एनप्याब्सनको विरोधमा पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

तर प्याब्सन र एनप्याब्सनले बन्द गरेको अनलाइन कक्षा खोल्ने वा नखोल्ने विषयमा भने सहमतिमा केही उल्लेख छैन ।

आफ्नो व्यवसायिक हितका लागि नेपाल सरकारसँग संयुक्त रुपमा पहल गर्ने सहमति भएको युनियनका अध्यक्ष होमकुमार थापा, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सनका अध्यक्ष टीकाराम पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै प्याब्सन र एनप्याब्सनले साउन १ बाट अनलाइन कक्षा बन्द गर्नुका साथै शिक्षक तथा कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेको थियो । लगतै संस्थागत विद्यालय शिक्षक युनियनले निर्णय सच्याउन तीन दिने अल्टिमेटम दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *