Sajhamanch Archive

कुकुरलाई गाली गरेको भन्दै कुटीकुटी हत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । गत विहीबार काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भयो । घटनामा संग्लन आरोपमा कृष्ण श्रेष्ठसहित आठजना पक्राउ परेका छन् । उनीहरुविरुद्ध म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

कुकुरलाई गाली गरेको भन्दै हत्या

घटना बिहीबार राति १ बजेको हो । सामान्य मजदुरी गर्दै आएका रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ र उनका साथी दोर्जे तामाङ सोही बाटो हुँदै डेरातर्फ गइरहेका थिए ।

लकडाउनका कारण उनीहरुको कामधन्दा बन्द थियो । मदीरा सेवन गरेर घरतर्फ जाँदै गर्दा बाटोमा कृष्ण श्रेष्ठको घरमा रहेको कुकुर भुक्यो । प्रहरीका अनुसार कुकुर भुकेपछि छिरिङ र दोर्जेले नशाको तालमा कुकुरलाई गाली गर्न थाले ।

त्यही क्रममा श्रेष्ठ घरबाहिर निस्किए । एसएसपी ज्ञवाली भन्छन्,“श्रेष्ठले उनीहरुलाई गाली गर्न थाले । त्यही क्रममा उनले हातपात गरेको देखिन्छ । हातपात गर्न थालेपछि छिरिङ र दोर्जेले पनि प्रतिवाद गरे । त्यसपछि श्रेष्ठले चोर–चोर भन्दै कराएपछि टोलका केही व्यक्ति जमा भए । उनीहरुले दुईजनामाथि आक्रमण गरे ।” आक्रमणमा छिरिङको मृत्यु भयो । दोर्जे बाच्न सफल भए ।

अनुसन्धानका क्रममा उनीहरु चोर्नका लागि गएको नपाइएको प्रहरी दाबी छ । मृतकका आफन्तले घटनामा संग्लन सबैलाई कारवाहीको माग गर्दै आएका छन् ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *