Sajhamanch Archive

साउनमा मासु रक्सी किन खान हुँदैन ? यस्तो छ धार्मिक तथा वैज्ञानिक कारण

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, समाज by .

झापा । साउन महिना लागेसँगै मानिसहरु भगवान शिवको पूजा आराधाना तथा स्तुतिमा लागेका छन् । हिन्दूधर्मावलम्बीहरुले साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरेका छन् । साउन महिना प्रकृतिको महिना हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ। जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ।

साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ। साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो।

भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

साउन महिनामा मासु र रक्सी सेवन नगर्ने परम्परा रहेको छ । त्यसो त मासु र रक्सीको सेवन धार्मिक रुपमा बर्जित नै छ । स्वास्थ्यका हिसावले पनि मासु र रक्सीको सेवन त्यति उपयुक्त होइन ।

साउन महिनामा धेरै मानिसहरुले रक्सी र मासु खाँदैनन् । यो प्राचिन समयदेखि चलिआएको चलन पनि हो । यसको धार्मिक र वैज्ञानिक कारण पनि रहि आएको छ ।

धार्मिक कारण

हिन्दू धर्ममा मांसहार र मद्यपानलाई राम्रो मानिदैन । त्यसमा पनि साउन महिना आफैमा पवित्र र भगवान शिवको महिना भएका कारण यस्तो पवित्र महिनामा यस्ता खाद्यपदार्थको प्रयोग उपयुक्त होइन ।

शिव शक्तिको पूजा गर्ने पवित्र महिनामा अपवित्र मासु र रक्सी किन पिउनु भन्ने भएर पनि कतिपयले यसको प्रयोग गर्ने गरेका छैनन् ।

जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

वैज्ञानिक कारण

रक्सी त जुनसुकै बेलामा नपिउँदा नै राम्रो हुन्छ । स्वास्थ्यलाई नराम्रो असर गर्छ भने पारिवारिक सम्बन्धहरुमा पनि समस्या आउन सक्छ । भगवानकै नाममा भएपनि एक महिना रक्सीबाट पर रहन चाहनेहरु पनि रहेका हुन्छन् ।

अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचन शक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइ लाग्छन् ।

बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *