Sajhamanch Archive

झापामा अपराधका घटनामा कमी

Published: in विविधा, समाज by .

बिर्तामोड । झापामा आपराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी अघिल्ला आर्थिक वर्षको तुलनामा यस वर्ष आपराधिक घटनामा कमी आएको जनाएको हो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले अघिल्ला दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा आपराधिक घटनामा कमी आएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले मुद्दाको संख्या घटेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १६८७ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७५/७६ मा १४६४ वटा मुद्दा दर्ता भए । यो आर्थिक वर्षमा भने ११७० वटा मात्रै मुद्दा दर्ता भएको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।

झापामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या जबर्जस्ती करणी, लागुऔषध, अभद्र व्यवहार, बहुविवाह, सवारी ज्यान, ठगी, मानव बेचबिखन लगायतका मुद्दामा कारबाही अघि बढाउँदै आएको छ । प्रहरीका अनुसार तीनओटा आर्थिक वर्षमा ४३२१ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार मेचीनगरमा एक आर्थिक वर्षमा मात्रै २२० घटना घटेका छन् । त्यस्तै दमकमा १७४ र विर्तामोडमा १७३ वटा घटना घटेका छन् । त्यस्तै भद्रपुरमा १०१, अर्जुनधारामा ६०, शिवसताक्षीमा ५८, गौरादहमा ५७ र कनकाईमा ५४ घटना घटेका छन् । झापाका आठ नगरपालिकामा मात्रै यो अवधिमा ८९७ वटा घटना घटेकोे प्रहरीले जनाएको छ ।

उता सात गाउँपालिकामध्ये सबैभन्दा धेरै घटना कमल गाउँपालिकामा घटेका छन् । कमल गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ७२ घटना घटेका छन् । गाउँपालिकामध्येकै सबैभन्दा कम घटना कचनकवल गाउँपालिकामा घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार गौरीगञ्जमा ३२, बाह्रदशीमा ३१, बुद्धशान्तिमा ५१, हल्दिबारीमा ३७ र कचनकवलमा २२ वटा घटना घटेको र मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *