Sajhamanch Archive

‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले राजनीतिक चलखेल नगर्न राष्ट्रपतिलाई आग्रह गरे ।

‘मुलुकको सर्वोच्च पदको गरिमा ख्याल गर्नुपर्छ’ कार्कीले भने ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्छ, चलखेल नगर्ने अर्को सेरेमोनियललाई राष्ट्रपति बनाउँदा हुन्छ, नभए राष्ट्रपति जस्तो पदमा बसेपछि गरिमाको ख्याल राख्नुपर्छ ।’

राष्ट्रपति एउटा पार्टीको मात्र बन्न नमिल्ने उनले बताए । ‘सर्वप्रथम नेकपालाई बधाइ छ, बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ’, उनले आफ्नो भनाइको सुरुवातमा भने ‘अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष, वास्तविक अध्यक्ष राष्ट्रपतिज्यू नै हुनुहुँदो रहेछ ।’

सचेतक कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय भ्रष्टाचारको केन्द्र भएको बताएका छन् । विश्व विद्यालय घोषणापछि भ्रष्ट्राचार गर्न खोजिएको बताउँदै उनले विश्व विद्यालयको नाममा भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।

कांग्रेस सांसद ओमप्रकाश सरावगीले सरकारले भद्रपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला समृति भवनलाई अलपत्र परेको गुनासो गरे ।

संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले पूर्व गोर्खा सैनिक, सिंगापुर प्रहरीका अवकाश प्राप्त ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन बन्द गर्ने सरकारी निर्णय खारेज गर्नुपर्ने बताए । नेकपा सांसद राजन राईलगायत पनि भत्ता कटौती गर्न नहुने बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *