Sajhamanch Archive

युभेन्टसको जीतमा रोनाल्डोको नयाँ कीर्तिमान

Published: in खेलकुद by .

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा ४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्‍यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि शुरुवातमा फ्रिकिक दिएपनि भिएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोको ५१औं मिनेटमा सदुपयोग गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई खेलमा २–० ले अघि बढाए ।

यो सिजन सिरी ‘ए’ मा ३० गोल पुर्‍याएका रोनाल्डो लाजियोविरुद्ध दुई गोल गरेपछि प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ मा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् ।

८३औं मिनेटमा लाजियोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लियोनार्दो बोनुचीले सिरो इम्मोवाइललाई पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा सिरो आफैले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *