Sajhamanch Archive

विराट नर्सिङ होमले लुकायो कोरोना संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ ।

विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।

तर अस्पतालले नै स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा नाम, ठेगाना, उमेर र मोवाइल नम्बर गलत राखेको पाइएको छ । स्रोतका अनुसार स्वाब संकलन गरेका व्यक्ति अस्पतालकै अधिकारी थिए । तर उनलाई लुकाउन प्रयोगशालामा स्वाब पठाउँदा विवरण गलत राखिएको थियो ।

बिहीबार प्रहरीले अस्पतालका कर्मचारीलाई केरकार गर्दा अस्पतालले झुटो विवरण पठाएको खुलेको हो । अहिले संक्रमितको पहिचान भएको छ ।संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बिहीबार बिहान संक्रमितको पहिचान भएको बताए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पराजुलीले अस्पतालले बदमासी गरेका कारण प्रहरी र स्वास्थ्यकर्मीले अनावश्यक दुःख पाएको बताए ।

‘परीक्षणका लागि कोही कसैको स्वाब संकलन गर्दा नाम, ठेगाना, सम्पर्क नम्बरदेखि सबै कुरामा ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘अस्पतालले नै विरामीलाई लुकाउने प्रयास गर्‍यो ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *