Sajhamanch Archive

कांग्रेसले भन्यो : लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको संक्रमण रोकथाम नियन्त्रणका लागि लागु गरेको लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिले लकडाउन खोल्दा सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेको हो ।

आमजनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणकाबीच खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिमतर्फ समितिले चासो र चिन्ता रहेको जनाएको हो।

“सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान दिएन । अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ,” अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भने, “यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ ।”

सरकारका हरेक निर्णयहरु हठात् र तयारीरहित देखिने गरेको भन्दै उनले लकडाउनको लामो अवधि बिनातयारी र बिनाउपलब्धि सरकारले सिध्याएको बताए । सरकारको लकडाउन खोल्ने निर्णय पूर्वतयारीका साथ नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको समितिको ठहर छ ।

समितिले आर्थिक–सामाजिक जीवन सहज बनाउन, आर्थिक गतिविधि बढाउन तर संक्रमणको जोखिम घटाउनतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

यि हुन कांग्रेसको कोभिड–१९ अनुगमन समितिले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएका बुँदाहरु :

१. संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।

२. लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।

३. नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।

४. सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मझौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन । अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ सरकारको पटक्कै ध्यान गएको छैन ।

५. लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन । हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *