कोरानाले विद्यार्थी घरमै थुनिए, मौकामा पढ्दै शिक्षक
Published: (Updated: )
by .बिर्तामोड । अधिकांश सामुदायिक विद्यालयको अवस्था र गतिविधि निराशाजनक मात्र होइन, विद्यालय नै बन्द हुने अवस्थामा थिए । स्थानीय तहको निर्वाचन पश्चात पछिल्ला वर्षहरुमा भने केही मात्रामा आशाका किरण देखिन थालेका छन् ।
अहिले कोरोनाका कारण विद्यालय बन्द छन् । शिक्षक, कर्मचारी र विद्यार्थी सबैमा तनाव छ । कतै आफू पनि कोरोना संक्रमित बनिने त होइन भन्ने सबैमा डर कायमै छ । कोरोनाको कहरलाई डरमै सिमित राख्दै बिर्तामोड नगरपालिका ९ स्थित दुर्गा माध्यमिक विद्यालयका शिक्षकहरु भने यतिबेला सिकाइमा ब्यस्त छन् ।
२७ जना शिक्षकमध्ये २४ जना नियमित रुपमा विद्यालय आउँछन् । सबैका हातमा कम्युटर, ल्यापटप हुन्छ । अरुबेला सानसाना बालबालिकालाई किताबको सहारामा पढाउने शिक्षक यतिबेला तिनै विद्यार्थीलाई सिकाउन सिक्दैछन् प्रविधि ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठक भन्छन्, यति लामो समयदेखि घोकन्ते शिक्षामा बालबालिकालाई पठाइको नाममा अल्मलाउँदै आएका रहेछौं, प्रविधि कहाँबाट कहाँ पुगेछ, बल्ल थाहा हुँदैछ ।
अहिले कम्प्युटर नजान्ने शिक्षक कोही छैन । सबैले आफूलाई आवश्यक सामग्री आफैं ब्यवस्थापन गर्न, खोज्न र प्रयोग गर्न सक्ने भएका छौं । ज्यादा खुशी लाग्छ अहिले अब बालबालिकाहरु सुन्ने मात्र होइन बोल्ने हुन्छन् । त्यसका लागि हामी अभ्यास गर्दैछौं । सामाजिक विकास मन्त्रालय प्रदेश १ को १४ लाख ५० हजार आर्थिक सहयोगबाट इन्टरर्याक्ट बोर्ड, स्मार्ट टिभी लगायत सामग्री विद्यालयमा छन् ।
नेल्टा झापाका अध्यक्षसमेत रहेका शिक्षक धर्मेन्द्र भट्टराई भन्छन्, योभन्दा अगाडि हामी बोल्ने र विद्यार्थी सुन्ने गर्थे, अब उनीहरुले हेर्ने र व्याख्या गर्नेछन् । अस्ति किताब हेर्दै मनोचित्र प्रस्तुत हुन्थ्यो, अब काल्पनिक होइन वास्तविक चित्र र वृत्तचित्र हेर्दै पठ्न पाउँछन् ।
सरकारले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन प्रयत्न गरिरहेको छ । प्रबिधिको प्रयोगसँगै सामुदायिकका शिक्षक पनि इमानदार र जवाफदेही हुन सके गुणस्तरीय शिक्षामा वृद्धि हुनसक्ने कुराको अपेक्षा गर्न सकिन्थ्यो ।
Comments